गत शनिबार कर्णाली नदीमा भएको जेसिबी दुर्घटनामा बेपत्ता दुई जनाको शव फेला

गत शनिबार कर्णाली नदीमा भएको जेसिबी दुर्घटनामा बेपत्ता दुई जनाको शव फेला

२७ मंसिर,काठमाडौं ।

कालिकोटमा जेसिबी दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदीमा गत शनिबार फुकोट जलविद्युत आयोजनाको जेसिबी दुर्घटना भएको थियो। उक्त दुर्घटना हुँदा तीन जना बेपत्ता भएका थिए।

ती मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षीय उमेश गिरी र कैलाली लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षीय जेसीबीका चालक मंगल चुडारीको शव फेला परेको हो।

गिरीको शव सोमबार र चुडारीको मंगलबार फेला परेको हो।सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले उनीहरूको शव फेला पारेको हो।उनीहरूसँगै दुर्घटनामा परी बेपत्ता सोही गाँउपालिकाका १९ वर्षीय रक्तिम सार्कीको खोजी भइरहेको छ।

गत शनिबार सो आयोजनाको सुरूङभित्र पानी हेरी फर्कदै गरेको प्रदेश नं ३ –०१–००३ क ६७७४ नम्बरको जेसिबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो। जेसिबीमा रहेका आठ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। तीन जना घाइते र तीन जना बेपत्ता भएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.