१९ पौष, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइल जफत गर्नेलाई कारबाही अगाडि बढाउन निर्देशन दिएका छन् । सोमबार विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएको मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जफत गरेको थियो ।
उक्त घटनामा प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालयलाई तत्काल कारबाही अगाडि बढाउन निर्देशन दिएका हुन् । अमेरिकाबाट नेपाल आएका झापाका दुधलाल नेम्वाङको सोमबार आफ्नो बाहेक अतिरिक्त मोबाइल ल्याएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार विभागले सो मोबाइल जफत गरेको थियो ।
त्यस्तै विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन दाहालले निर्देशन दिएका छन् । मंगलबार बिहान टेलिफोनमार्फत उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई निर्णय कार्यान्वयन नभएकोप्रति प्रधानमन्त्री प्रचण्डले तत्काल कार्यान्वयन मिलाउन निर्देशन दिएका हुन् ।
प्रचण्डले मंगलबार बिहान अर्थमन्त्री पौडेल र अर्थसचिवलाई आवश्यक कानुनी प्रक्रिया पछि मिलाउँदै जान सकिने तर अहिले निर्देशन कार्यान्वयन आजैकै मितिदेखि गराउन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।
‘प्रधानमन्त्रीले आज अर्थमन्त्रीलाई फोन गरेर एयरपोर्टले सरकारको निर्देशन किन पालना नगरेको? भनेर जिज्ञासा राख्नुभयो,’ सचिवालयका एक सदस्यले भने, ‘तत्काल सरकारको निर्णय कार्यान्वयन गर्नुप¥यो। कानुनी समस्या छन् भने पनि तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउनुप¥यो।’ ‘उहाँले अर्थसचिवलाई पनि निर्देशन दिँदै सबैतिर सरकारको निर्णय एकैपटक पुग्ने र कार्यान्वयन हुने गरी सर्कुलर गर्न निर्देशन दिनुभयो,’।
अमेरिकाबाट फर्केका झापाका नेम्वाङले आफ्नो साथमा ल्याएको आइफोन एयरपोर्टका कर्मचारीले १८ प्रतिशत कर तिर्नुपर्ने भन्दै लिएपछि उनले त्यही छोडेर हिँडेका थिए । सरकारले बाहिरबाट आउँदा ल्याउने मोबाइलमा कुनै रकम नलाग्ने निर्णय भएपछि आफूले ल्याएपनि एयरपोर्टका कर्मचारीले सरकारको निर्णय थाहा नभएको र कुनै निर्णय प्राप्त नभएको बताउँदै १८ प्रतिशत कर तिर्नेपर्ने बताएपछि उनले मोबाइल फोन त्यही छोडेका थिए । यो घटना बाहिरिएपछि सरकारको जनस्तरबाट आलोचना भइरहेको छ ।