२४ पौष, काठमाण्डौ ।
विद्यालयकी शिक्षिकाले पानी ठानेर दिएको स्प्रिट खाएपछि छात्राको निधन भएको विरोधमा सिरहाको मिर्चैया बजारमा जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनमा उत्रेका विद्यार्थी र स्थानीयले प्रहरीको टोलीमाथि नै ढुंगामुढा गर्न थालेपछि हवाई फायर गर्नुपरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार प्रहरीले ६ राउन्ड हवाई फायर र ३ राउन्ड आश्रुग्यास प्रहार गरेका छन् । प्रहरीले लाठीचार्ज समेत गरेको बुझिएको छ । प्रहरीको लाठीबाट केही विद्यार्थी र विद्यार्थीको ढुंगामुढाबाट ७ जना प्रहरी समेत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मिर्चैया नगरपालिका ६ मा रहेको सगरमाथा स्कुलको कक्षा ८ मा अध्ययनरत छात्रा महराको स्प्रिटको सेवनबाट मृत्यु भएको हो ।
उनले पानी मागेपछि शिक्षिका अम्बिका लम्सालले माउन्टेन ड्यूको बोतलमा रहेको स्प्रिट पानी ठानेर दिएकी थिइन् । सो बोतलबाट छात्रा महराले पानी ठानेरै स्प्रिट खाएपछि बेहोस भएकी थिइन् । उनको उपचारको क्रममा कर्जन्हाको फुलकुमारी महतो मेमोरियल अस्पतालमा हिजो साँझ मृत्यु भएको छ ।
सो घटनाको विरोधमा आज विहानैबाट विद्यार्थीहरू मिर्चैयामा राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा उत्रेका विद्यार्थीहरूले स्कुलमा समेत तोडफोड गरेका छन् । यस्तै प्रहरी कार्यालयमा पनि ढुंगामुढा गर्न थालेपछि स्थिति बिग्रेको स्थानीयको भनाई छ । डिएसपी बुढाथोकीले घटनाको अनुसन्धान गरिरहेको र दोषीमाथि कारबाही गर्ने बताइएका छन् ।