Nepal Times
Nepal Times
3
Shares

बाँकेमा दादुरा फैलिएपछि १० हजारलाई लगाइयो खोप

बाँकेमा दादुरा फैलिएपछि १० हजारलाई लगाइयो खोप

२९ पौष, काठमाण्डौ ।
समयमा खोप लगाउन हेल्चेक्राईँ गर्दा केही समययता बाँकेको नेपालगञ्जमा बालबालिकामा दादुराको संक्रमण देखिइरहेको छ । बालबालिकामा दादुराको संक्रमण देखिन थालेसँगै सरकारले खोप अभियान सुरु गरी सबैलाई खोप लगाउन सचेत गराएको थियो ।

सोही खोप अभियान अन्तर्गत बाँकेको नेपालगञ्ज उपमहानगरमा झण्डै १० हजार बालबालिकालाई खोप लगाइएको छ । अहिलेको खोप अभियानमा उपमहानगरभित्रका झण्डै १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।

हिजोसम्ममा ६ महिनादेखि १५ वर्षसम्मका ९ हजार ९ सय ६३ जनालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी एिका छन् । बाँकीलाई अबको तीन÷चार दिनभित्र खोप दिइनेछ ।

खोपमा पहुँच नपुग्दा र धेरैले नियमित खोप नलगाएका कारण नेपालगञ्जमा दादुरा फैलिएको पाइएको छ । बाँकेलाई दुई वर्षअघि नै पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । तर गएको पुस १३ गतेयता नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा गरी १ सय ३० जनामा सङ्क्रमण देखिएको छ भने एक जनाको ज्यान गएको छ ।

बाँकेको खजुरा गाउँपालिकामा पनि २ जनामा दादुरा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामध्ये ६० जना उपचारमा छन् भने अरु निको भइसकेका छन् । खोप अभियान प्रभावकारी बनाउन र सङ्क्रमण रोकथाम गर्न नेपालगञ्ज उपमहानगरमा आउँदो मङ्गलवारसम्मका लागि विद्यालय बन्द गरिएको छ।

आवश्यकता अनुसार विद्यालय थप एक हप्ता बन्द गर्ने तयारी रहेको पनि प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिए । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्जका वडा नम्बर १, ९, १०, ११, १४, १५ र २२ मा दादुराको सङ्क्रमण फैलिएको छ ।

परीक्षण, चेतनामूलक कार्यक्रम, बिरामीको थप खोजी र खोप अभियान तीव्र पारिएको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयले पनि दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गर्दै आएको छ । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका बालबालिकालाई दादुराविरुद्धको नियमित निःशुल्क खोप लगाउन आग्रह गरे ।

बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउने गरिन्छ । तर खोप अभियानका बेला यसअघि लगाएका र छुटेका १५ वर्षसम्मका सबै बालबालिकालाई खोप दिने गरिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालले बताए । उनका अनुसार दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राताराता बिमिरा आउने लक्षण देखिन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.