Nepal Times
Nepal Times
3
Shares

विमान दुर्घटनामा सबै शव भेटियो,आफन्तलाई बुझाईदै

विमान दुर्घटनामा सबै शव भेटियो,आफन्तलाई बुझाईदै

२ माघ, काठमाण्डौ ।
पोखरामा आइतबार दुर्घटनाग्रस्त बनेको यति एअरलाइन्सको विमानका चार जना बेपत्ता यात्रुको शव फेला परेको छ। आइतबार साँझसम्म खोजी गर्दा विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव फेला परेको थियो। राति परिसकेकाले चार जना अज्ञात थिए।

तर, सोमबार बिहानैदेखि सशस्त्र प्रहरी बलको गोताखोरको र रेस्क्यू टिमले चारवटा शव फेला पारेको हो। फेला परेका शव गण्डकी अस्पताल पठाइएको छ। चालकदलका चार जना र ६८ यात्रु उक्त विमानमा थिए। जसमा १५ जना विदेशी र ५३ जना नेपाली यात्रु थिए।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको नाइन–एन एएनसी एटीआर ७२–५०० विमान अवतरणअघि दुर्घटना भएको थियो । आइतबार मृत्यु भई सनाखतसमेत भएका शवलाई भने आज प्रक्रिया पूरा गरेर आफन्तको जिम्मा लगाउन लागिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताएका छन् ।

शव जिम्मा लगाउनका लागि शव बाहन र एम्बुलेन्स तयार पारिएको छ । पहिचान नभएका, विदेशीको शव काठमाडौं पठाइँदै छ । यो दर्दनाक दुर्घटनामा परी पर्वतका मात्रै १० जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतक सबैको सनाखतसमेत भइसकेको छ ।

दुर्घटनामा परी कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा –९ का अरुण पौडेल र उनकै छोरी ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा–१ पाङकी रचना काफ्ले र उनका १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो ।

त्यसैगरी दुर्घटनामा मोदी गाउँपालिका–१ भुकताङ्लेका विजय गुरुङ, विहादी –५ उराम पोखराका एकै परिवारका जमुना शर्मा, युवराज शर्मा, आयुर्दी शर्मा र वेबी शर्माको मृत्यु भएको छ । शर्मा परिवारमा आमा, छोरा, नाती र नातिनी एउटै विमान दुर्घनामा परेर अकल्पनीय निधन भएको हो । उनीहरू यही माघ ४ गते आफन्तको घरमा रहेको पूजामा निम्ता मान्न आएका थिए ।

दुर्घटनामा ज्यान गुमाउने कुश्मा –९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धी पौडेल विद्यालय बिदा भएपछि आफन्तलाई भेटघाट गर्न गएका थिए । नेपालको आन्तरिक उडानमा अहिलेसम्मकै सबैभन्दा भयानक ठूलो मानविय क्षति भएको यो विमान दुर्घटना कसरी भयो भन्ने यकिन तथ्य आइसकेको छैन ।

यकिन कारण पत्ता लगाउन आइतबारै मन्त्रिपरिषद्ले पूर्वसचिव नगेन्द्र घिमिरे नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ । आइतबार पोखराको मौसम भने सफा रहेको थियो । जहाजमा फ्लाइट डाटा रेकर्डर (एफडीआर) र पाइलटहरूले आपसी संवाद गरेको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) हुन्छ । खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमानका दुवै उपकरण सुरक्षाकर्मीले भेट्टाइसकेका छन ।

अब छिटै नै दुर्घटनाको कारण पनि पत्ता लाग्न सक्ने अधिकारीहरु बताउँछन् । यसैबीच आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक उडानहरु बन्द भएका छन् । भिजिबिलिटी कम हुँदा देशभरका कुनैपनि विमाानस्थल खुल्न नसकेको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिएका छन् ।

काठमाडौंमा भने आएफआर प्रणालीबाट उडान अवतरण भइरहेको छ। यति एयरलाइन्सले भने आज सबै उडान रद्द गरेको छ । आज सरकारले शोक विदा पनि दिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.