५ माघ, काठमाडौं ।
पर्सामा हुन्डी कारोबार गरेको आरोपमा दुई जना स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले दुई जनालाई साढे २२ लाख रुपैयाँसहित पक्राउ गरेको प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।
वीरगन्ज महानगरपालिका १६ नगवा बस्ने ३४ वर्षीय विकास साह र वडा १८ इनर्वा मनियारी बस्ने १९ वर्षीय सुवासकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।मंगलबार वीरगन्ज महानगरपालिका ८ घण्टाघरस्थित सडकमा उनीहरू सवार भारतीय नम्बरको स्कुटरमा प्रहरीले चेक गरेको थियो।
चेक गर्ने क्रममा पछाडि सवार सुवासकुमार साहले बोकेको झोलाबाट साढे २२ लाख नेपाली रुपैयाँ फेला पारेको हो। स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।उनीहरूमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
				
                                                    
                                                    






                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
