Nepal Times
Nepal Times
72
Shares

६ महिनामा १० वटा एक सिंगे गैंडा मरे

६ महिनामा १० वटा एक सिंगे गैंडा मरे

७ माघ, काठमाण्डौ ।
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा १० वटा एक सिङ्गे गैँडा मरेका छन् । चालू आवको पहिलो छ महिनामा मरेका १० मध्ये सात गैंडा प्राकृतिक कारणबाट, एक विद्युत् करेन्ट लागेर र दुई चोरी निकासी गर्ने तस्करका कारण मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

शुक्रबार पूर्वी नवलपरासीमा तस्करले विद्युतीय धरापमा पारेर मारेका दुईसहित मरेका गैंडाको सङ्ख्या १० पुगेको हो । सूचना अधिकारी तिवारीकाअनुसार शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–२ स्थित नारायणी नदी किनारमा मृत भेटिएका दुवै गैँडा तस्करले थापेको विद्युतीय धरापमा परेर मरेका हुन् ।

मृत फेला परेका दुईमध्ये अन्दाजी १४ वर्षको पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको हो । अर्को अन्दाजी चार वर्षको बच्चा गैंडाको भने खाग सुरक्षित रहेको तिवारीले जानकारी दिए । तस्करले माउ गैंडालाई थापेको धरापमा परेर बच्चा गैंडा पनि मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको तिवारीले बताए ।

खाग काटिएको अवस्थामा मृत गैंडा फेला परेपछि अनुसन्धान अगाडि बढाइएको निकुञ्ज प्रशासनले जनाएको छ । यो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोष्टनजिक पर्छ । स्थानीयबासीले मृत गैंडा देखेपछि चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँको सुरक्षार्थ खटिएको नेपाली सेनालाई खबर गरेका थिए । नवलपुरको अमलटारी क्षेत्रमा यसअघि पनि गैंडाका माउ, बच्चालाई सिकारीले निसाना बनाउने गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.