विराटनगर,भदौ १२
सोमबार रक्षाबन्धनकै दिन सप्तरीकी एक युवती सामूहिक बलात्कारको शिकार भएको घटना सार्वजनिक भएको छ । पीडित पक्षले कारबाहीको माग गर्दै प्रहरीमा आज उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । रक्षाबन्धनको मेलापछि घर फर्किने क्रममा सोमबार राति शम्भुनाथ नगरपालिका ६ अर्नाहा भन्ने स्थानमा खडग नगरपालिका ५ की २० वर्षीय यूवतीको सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ती यूवतीलाई ६ जना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिए । स्थानीय १६ वर्षीय युवकसँगै रक्षा बन्धनको अवसरमा लागेको मेला हेरेर साइकलमा घर फर्किने क्रममा यूवतीलाई ६ जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।
यूवतीसँगै रहेका युवकलाई नियन्त्रणमा लिइ कुटपिट गर्दै मोबाइल र साइकल खोसी आरोपी युवकहरुले धानखेतमा बलात्कार गरेको युवतीले दिएको उजुरीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । यसैबीच युवतीको बयानको आधारमा ६ जनामध्ये पाँचजनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले शम्भुनाथ नगरपालिका ५ का २० वर्षीय विक्रम सरदार, २६ वर्षीय कृष्णकुमार साह, २७ वर्षीय मनोजकुमार राम, कञ्चनरुप नगरपालिका ११ का २४ वर्षीय हिरालाल साह र शम्भुनाथ नगरपालिका ७ का १८ वर्षीय राजकुमार भगतलाई नियन्त्रणमा लिएको छ । यसअघि फागुन महिनामा मात्र सप्तरी जिल्लामा १८ वटा बलात्कारका घटना भएका थिए ।