Nepal Times
Nepal Times
162
Shares

जनकपुरका दुई युवाको भारतमा अपहरण पछि हत्या

जनकपुरका दुई युवाको भारतमा अपहरण पछि हत्या

८ माघ, काठमाण्डौ ।
जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या भएको छ । १३ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो । मृतक दुवैजना एकै परिवारका हुन् ।

रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको र शुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् ।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए । अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएको र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको उनले बताए ।

भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई शव भेटेपछि आईतवार बिहान मृतक युवाका आफन्तलाई खबर गरिएपछि परिवार शोकमा डुबेको छ । विष्णु र रोहित परिवारको एक्लो छोरा थिए । क्याम्पस पढ्दै गरेका विष्णुका श्रीमती र एक छोरी छन् ।

मृतक दुवै जनाको परिवार यसअघि वडा नं. १३ मै एकैठाँउ बस्दै आएको भएपनि अंशबन्डा पछि अलगअलग भएका थिए । शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।

मृतकका परिवारसँगै शव पहिचानका लागि घटनास्थलमा पुगेका मृतकका छिमेकीहरुले मृतकका परिवारजनले शव चिनेको र नेपाल ल्याउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पनि भारतमा भेटिएको शव सोही दुई युवाहरुको रहेको बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.