भित्ता फोडेर कसरी भागे ६ जना थुनुवा ?

भित्ता फोडेर कसरी भागे ६ जना थुनुवा ?

१६ माघ, काठमाण्डौ ।
धनुषामा ६ जना थुनुवा फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका हुन् । उनीहरू राति दुई बजेदेखि चार बजेको बीचमा हिरासत तोडेर फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

हिरासतमा ७ थुनुवा रहेकोमा एक जना भने नभागेको बताइएको छ । डीएसपी क्षेत्रीकाअनुसार दुईजना हातहतियार, दुईजना लागुऔषध र अन्य दुईजना अभद्र व्यवहार मुद्दामा थुनामा रहेकाहरु फरार भएका हुन् । फरार हुनेहरूमा रोशन महतो र शंकर सिंह हातहतियार, विनोदकुमार शर्मा र अमित मण्डल लागुऔषध र रोशन यादव र हरिदीप सिंह राष्ट्र सेवक बाधा मुद्दाका अभियुक्त हुन् ।

फरार अभियुक्तहरूको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ । हिरासत कक्षतर्फको भित्ता निकै कमजोर भएका कारण फोडेर अभियुक्तहरू भाग्न सफल भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।

उक्त इलाका प्रहरी कार्यालय ढल्केबरदेखि जनकपुर जाने बाटोमा पर्दछ। प्रहरीले पुरानो भवन भएका कारण पर्खाल भत्काएर भागेको बताए पनि प्रहरीको सुरक्षा घेराबाट पर्खाल भत्काएर भाग्दासमेत कसैले पत्तो नपाउनुलाई भने प्रहरीले नै शंकास्पद रुपमा लिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.