१७ माघ, काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकाल्दा लाग्ने शुल्क घटाएको छ । अर्को बैंकको एटीएम प्रयोग गर्दा यसअघि २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था थियो । राष्ट्र बैंकले निर्देशिका जारी गर्दै अब २० रुपैयाँ शुल्कलाई १५ बनाएको हो ।
एउटा बैंकको एटीएम प्रयोग गरेर अर्कोबाट रकम निकाल्दा यसअघि हरेक महिना दुईपटकसम्म शुल्क नलाग्ने व्यवस्था थियो । त्यसपछि प्रत्येकपल्ट २० रुपैयाँ शुल्क लाग्ने गर्थ्यो । राष्ट्र बैंकले अब पाँच रुपैयाँले शुल्क घटाएर निःशुल्कको सुविधा हटाएको हो । राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ ।
यसअघि, बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था थियो । त्यसलाई बढाएर प्रतिदिन दुई लाख लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था गरिएको छ । वालेटबाट अरू बैंकको खातामा पठाउने पैसाको सीमा बढाइएको छ । ५० हजारबाट दुई लाखसम्म पठाउन पाउने सीमा तोकिएको छ ।
एउटा मोबाइल वालेटबाट दिनमा २५ हजार पठाउने सीमालाई बढाएर ५० हजार पु¥याइएको छ । क्यूआर कोडबाट तीन लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने भएको छ । यसअघि, यसरी दुई लाखसम्मको कारोबार गर्न सकिन्थ्यो । सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)को शुल्क पनि घटाइएको छ ।
तीन हजारसम्मको राजस्व बुझाउँदा पाँच रुपैयाँ शुल्क लाग्ने गरेकामा त्यसलाई पाँच हजार रुपैयाँसम्म तिर्दा पाँच रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ । तीन हजार रुपैयाँसम्मको कारोबारमा पाँच रुपैयाँ र पाँच हजार एक रुपैयाँदेखि १० हजारसम्म आठ रुपैयाँ शुल्क तोकिएको छ ।
यसअघि, तीन हजार एकदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा आठ रुपैयाँ शुल्क लाग्थ्यो । यस्तै, १० हजार एकदेखि माथिको कारोबारमा १० रुपैयाँ शुल्क लाग्नेछ । यसअघि, २० रुपैयाँ शुल्क लाग्ने गरेको थियो ।