२१ माघ, एजेन्सी ।
कतारमा कार्यरत एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रको सिरिज २४८ मा कतारमा कार्यरत रन्जितकुमार पालले २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन् ।
सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट गत जनवरी १६ मा खरिद गरेका थिए । पाँच र १० वर्षका दुई छोराका बुबा पाल बिग टिकटका प्रतिनिधिहरूबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका छन् ।
‘म अत्यन्तै खुसी भएको छु। मै जितेको यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्नेछु’, उनले भने । पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आएका थिए । आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनको योजना छ ।
‘यो कार्यक्रममार्फत नगद, सुन र ड्रीम कार पुरस्कार जित्ने मेरो प्रयास जारी राख्नेछु’, उनले भनेका छन् । ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए । दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विश्वनाथनले १ मिलियन दिराम, यस्तै शिबु म्याथ्यू ले १ लाख दिराम र अजित रामचन्द्रकैमल ५० हजार दिराम रकम चिठ्ठामा जितेका थिए ।
यस्तै सुमन मुथैया नाडर रागावनले नयाँ रेन्ज रोभर प्राप्त गरेका थिए । मार्च ३ मा हुने अर्को ड्रमा, एक भाग्यशाली विजेताले १ करोड ५० लाख दिराम पाउँनेछन् । दोस्रो पुरस्कार १० लाख दिराम, तेस्रो पुरस्कार १ लाख दिराम र चौथो पुरस्कार ५० हजार दिराम छ ।