२१ माघ, एजेन्सी ।
अमेरिकापछि ल्याटिन अमेरिकामा पनि चीनको जासुसी बेलुन देखापरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपी र एसोसिएटेड प्रेसले यो जानकारी दिएको हो ।
राइडरले चीनको दोस्रो जासुसी बेलुन ल्याटिन अमेरिकामा देखिएको दाबी गरेका छन । तर उनले बेलुनको सही स्थान भनेनन् । यसै क्रममा अमेरिकामा भेटिएको पहिलो जासुसी बेलुनमा चीनको आधिकारिक मिडिया ग्लोबल टाइम्सको प्रतिक्रिया आएको छ । अमेरिकाको पछिल्लो दाबीपछि यस विषयमा चीनको जवाफ आएको हो ।
चीनको आधिकारिक मिडिया संगठन ग्लोबल टाइम्सले यसबारे केही ट्विट गरेको छ । एउटा ट्विटमा ग्लोबल टाइम्सले लेखेको छ, ‘चीनबाट एउटा मानवरहित हवाई जहाज अमेरिकी आकाशमा अप्रत्याशित घटनाका कारण प्रवेश गरेको छ । चीनले घटनाको पुष्टि गर्दै अमेरिकालाई जवाफ दिएको छ।
’ यस अनुसार, ‘चीनको विदेश मन्त्रालयका प्रवक्ताले शनिबार जारी गरेको विज्ञप्तिमा अप्रत्याशित परिस्थितिका कारण घटना भएको बताएको हो । अर्को ट्विटमा ग्लोबल टाइम्सले लेखेको छ, ‘चीनले सधैं अन्तर्राष्ट्रिय कानुन र अन्य देशको सार्वभौमसत्ता र अखण्डतालाई उच्च सम्मान गरेको छ ।
कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशको भूभाग वा हवाई क्षेत्रको उल्लङ्घन गर्ने कुनै उद्देश्य छैन । हामी यस घटनाको आडमा केही अमेरिकी नेता र मिडियाले चीनको बदनाम गरेकाप्रति विरोध गर्छाैं।’ यसअघि बुधबार पश्चिमी अमेरिकी राज्य मोन्टानामा यस्तै एउटा बेलुन आकाशमा देखिएको थियो ।
त्यसपछि अमेरिकाले चीनले संवेदनशील ठाउँमा जासुसी गरेको आरोप लगाएको थियो । अधिकारीहरूले भनेका छन– यो बेलुन पछिल्ला दिनहरूमा संवेदनशील ठाउँहरूमा उडिरहेको थियो र यो एक जासुसी उपकरण हो । यी घटनाक्रमका बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।
यद्यपि चीनको विदेश मन्त्रालयले अमेरिकाको आरोपको खण्डन गर्दै यो ‘सिभिलियन एयरसिप’ भएको बताएको छ । अमेरिकाको आकाशमा यस्तो बेलुन आएकोमा चीनले दुःख व्यक्त गरेको थियो । यस बेलुनको उद्देश्य मौसमविज्ञानको जानकारी सङ्कलन गर्नु रहेको चीनको भनाइ छ ।