२१ माघ, बाठमाण्डौ ।
नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा समावेश गरेको भन्दै यतिबेला चर्को आलोचना भइरहेको छ । बलात्कारजस्तो गम्भीर विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेलाई टोलीमा समावेश गरेको भन्दै नेपाल क्रिकेट संघ ( क्यान) को विराध भएको हो ।
शनिबार पनि क्यानको निर्णयको विरोधमा माइतीघरमा आयोजित प्रदर्शनमा कयौं युवाहरू सहभागी भएका छन् । उनीहरुले क्यान र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले बलात्कार आरोपी र उनलाई साथ दिने दुवैलाई बहिष्कार गर्नुपर्ने आशयका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
सामाजिक संजालमा पनि क्यानको ब्यापक विरोध र आलोचना भइरहेको छ । यसैबीच बलात्कार मुद्दाका अभियुक्त सन्दीपलाई क्यानले निलम्बन फुकुवा गरी टिममा फर्काएकाप्रति नेपाली कांग्रेसका एकपछि अर्का नेताले आपत्ति जनाएका छन् । शनिबार कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।
नाम नतोकीकन खड्काले लेखेका छन्, ‘कोही नेता लोकप्रिय होलान्, कोही कलाकार लोकप्रिय होलान्, कोही खेलाडि लोकप्रिय होलान्, यो बेग्लै कुरा हो। तर बलात्कारको अभियोग वा कुनै पनि अभियोग लागेको व्यक्तिलाई कुनै पनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्तैन । सम्बन्धित संस्थाको तत्काल गम्भीर ध्यान जाओस्।’
यसअघि प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विरोध जनाएका थिए । शुक्रबार कांग्रेसका महामन्त्रीद्वय शर्मा र थापाले अलग अलग रूपमा सामाजिक सञ्जालमार्फत बलात्कार घटनाका अभियुक्त लामिछानेलाई मुद्दा किनारा नलाग्दै क्यानले पदमा फर्काउँदै बन्द प्रशिक्षणमा सहभागी गराएपछि विरोध जनाएका थिए ।
बलात्कार अभियोगमा ९९ दिन जेल बसेर धरौटीमा रिहा भएका क्यानले कप्तानमा फर्काउँदै बन्द प्रशिक्षणमा समेत सहभागी गराइसकेको छ । क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै आईसीसी लिग डिभिजन–२ अन्तर्गत नेपालमा हुने नामिबिया र स्कटल्यान्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो ।
क्रिकेटर लामिछाने शुक्रबारदेखि नियमित अभ्यासमा छन् । बलात्कारको आरोप लागेपछि सन्दीपलाई क्यानले निलम्बन गरेको थियो । गएको मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकबाट सन्दीपमाथिको निलम्बन फुकुवा गर्दै उनलाई प्रशिक्षणमा बोलाएको थियो । उच्च अदालत पाटनले सन्दीपलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उनलाई क्रिकेट खेल्न रोक लगाइएको छैन ।