Nepal Times
Nepal Times
3
Shares

चिनियाँ जासुसी बेलुन अमेरिकाले समुद्रमा खसाल्यो

चिनियाँ जासुसी बेलुन अमेरिकाले समुद्रमा खसाल्यो

२२ माघ, एजेन्सी ।
अमेरिकाले आफ्नो समुन्द्री क्षेत्र (एट्लान्टिक सागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई खसालेको छ । जासुसी बेलुन यसै साताको सुरूमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो भने शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा यात्रा गरेको थियो ।

उक्त जासुस बेलुन शनिबार क्यारोलिना तटमा उत्तरी अमेरिकाको संवेदनशील सैन्य साइटहरू पार गरेपछि खसालिएको एपीले जनाएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनका अनुसार राष्ट्रपति जो बाइडेनको निर्देशन पछि लडाकु विमानहरूले दक्षिण क्यारोलिनाको तटको एट्लान्टिक सागरमा बेलुनलाई खसालेको हो ।

अमेरिकी रक्षा मन्त्रालयले बुधबार नै मोन्टानामा गोली हानेर बेलुन खसाल्ने विचार गरेपनि त्यसबाट जमिनमा रहेका व्यक्तिलाई क्षति हुनसक्ने भएकाले खसाल्ने निर्णय गरेको थिएन । अमेरिकी टेलिभिजनहरुमा देखाइएका भिडिओमा उक्त बलुन सानो विस्फोटनपछि समुद्रमा खसिरहेको देखिन्छ ।

एउटा क्षेप्यास्त्रको सहाराले आकाशमा रहेको उक्त बलुन विरुद्ध F-22 लडाकु जेटले कारबाही अघि बढाएको थियो । रक्षा अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमलाई त्यसको भग्नावशेष मटल बीच, साउथ क्यारोलाइना नजिकै ४७ फिट गहिरो पानीमा खसेको जनाएका छन् ।

निशाना लगाइए लगत्तै त्यो सिधै समुद्रमा खसेको थियो र अमेरिकी अधिकारीहरूले झन्डै ११ किलोमिटरको क्षेत्रफलमा फैलिएको त्यसको भग्नावशेष खोज्ने प्रयास गरिरहेको जनाइएको छ । भग्नावशेष सङ्कलनका लागि दुई वटा नौसैनिक पानी जहाज र एउटा क्रेन परिचालन गरिएको छ ।

साउथ क्यारोलाइनाका अधिकारीहरूले यसअघि मानिसहरूलाई आफ्नै राइफल प्रयोग गरी उक्त बलुनलाई खसाल्ने प्रयास नगर्न अनुरोध गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले जासुसी बेलुनलाई गोली हान्न स्वीकृति दिएपछि सैन्य अधिकारीले यसलाई समर्थन गरेका थिए ।

बेलुन खसाल्नु अघि संघीय उड्डयन प्रशासनले नर्थ क्यारोलिनाको विल्मिंगटन र साउथ क्यारोलिनाको चार्ल्सटन र मर्टलबीच एयरपोर्टहरूको लागि ग्राउन्ड स्टप जारी गरेको थियो। संघीय उड्डयन प्रशासनले मार्टल बीच नजिकैको हवाई क्षेत्रलाई पनि प्रतिबन्धित गरेको थियो । यो बेलुनको साइज तीन वटा बस बराबर रहेको एपीले जनाएको छ ।

यता अमेरिकी आकाशमा देखिएको बेलुन आफ्नो भएको स्वीकार गर्दै चीनले मौसम अनुसन्धानका लागि प्रयोग गरिएको दावी गरेको थियो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले बेलुन मुख्यतया मौसम अनुसन्धानको लागि प्रयोग गरिएको बताएको थियो । मन्त्रालयले बेलुनको सीमित स्टेयरिङ क्षमताहरू भएको र हावाको कारणले आफ्नो योजनाबद्ध मार्गबाट टाढा गएको बताएको थियो ।

अमेरिकी वायु क्षेत्रमा बेलुनको अनपेक्षित प्रवेशप्रति चीनले दुःख प्रकट गरेको थियो । तर अमेरिकाले बेलुन खसालेपछि चीनले ‘अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लंघन’ भएको बताएको छ । अमेरिकामा संदिग्ध चिनियाँ जासूस बेलुन देखिएपछि अमेरिकाले आफ्ना विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ यात्रा स्थगित गरेको छ । यसले वाशिंगटन र बेइजिङ बीचको तनाव बढाउने काम गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.