२२ माघ,एजेन्सी ।
कतिपय मुलुकहरुमा पछिल्लो समय अत्याधिक चिसोका कारण मानिसहरुको कठ्यांग्रिएर मृत्यु भएका खबरहरु आइरहँदा दक्षिण अमेरिकी मुलुक भने अत्यधिक गर्मीको चपेटामा परेका छन् । चिलीमा अत्यधिक गर्मीले मानिसहरुको प्राण लिइरहेको छ । मौसम अत्याधिक ताती रहँदा चिलीका दर्जनौँ जङ्गलमा डढेलो लागेको छ ।
जसकाकारण कम्तीमा २३ जनाको ज्यान गएको बताइएको छ । राजधानी सान्टियागोबाट झण्डै ५ सय किलोमिटर टाढा रहेको सान्ता जुआना सहरमा अग्नि नियन्त्रकसहित ११ जनाले ज्यान गुमाएका छन् । आगो फैलन नदिन अर्जेन्टिना र ब्राजिलका ६३ वटा विमानले प्रयास गरेका छन् ।
आपत्कालीन सहयोगमा पुगेको हेलिकप्टर समेत दुर्घटना भएको गृहमन्त्री क्यारोलिना तोहाले बताएका छन् । पछिल्लो विवरण अनुसार विभिन्न ठाउँमा भएको आगलागीमा परि ९ सय ७९ जना मानिस घाइते भएका छन् । आगलागी भएका क्षेत्रका ११ सयभन्दा धेरै मानिसलाई सुरक्षित आश्रयस्थलमा राखिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
चिलीका करिब १४ हजार हेक्टर (३५ हजार एकड) क्षेत्रफलमामा आगो फैलिएको छ । सरकारले डढेलो लागेका क्षेत्रमा आपत्कालीन आदेश जारी गरेको छ । आगो निभाउन थप सेना परिचालन गरिएको छ । गर्मीको लहरले आगो निभाउने प्रयास थप जटिल बनाएको छ । त्यहाँको मौसम विभागले अझै केही दिन स्थिति थप बिग्रने चेतावनी दिएको छ ।
आगलागीका कारण राजमार्गमा समेत क्षति पुगेको छ, जसका कारण यात्रुलाई आवतजावतमा निकै समस्या भएको छ । यस अवधिमा धेरै बस्तीहरू खाली गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले न्यूबलको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस रहने प्रक्षेपण गरेको छ । यस अवधिमा चल्न सक्ने तीब्र हावाहुरीले स्थिति थप बिग्रने खतरा औंल्याइएको छ ।