काठमाडौं,भदौ १४
चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनले ७५० मेगावाटको पश्चिमसेती आयोजना नबनाउने निश्चित भएको छ । लगानी बोर्ड र अर्थ तथा ऊर्जामन्त्रीसंगको वार्तामा उसले थप शर्त अघि सारेपछि सरकार थ्री गर्जेजले आयोजना नबनाउने निष्कर्षमा पुगेको हो ।
बोर्ड र थ्री गर्जेजबीचको वार्ता असफल भएको छ । बोर्डसंग वार्ता सफल नभएपछि थ्री गर्जेजका अध्यक्ष जाओ जियाङक्वाङसंग बोर्डका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडा र सदस्य जलस्रोत, ऊर्जा तथा सिंचाइमन्त्री वर्षमान पुनसंग पनि मन्त्रालयमा थप छलफल भएको थियो । त्यहाँ पनि सहमतिमा नपुगेपछि वार्ता विफल भएको हो ।
लगानी बोर्डले प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बोर्ड बैठकमा थ्री गर्जेजले राखेका प्रस्तावलाई लैजाने र त्यसपछि आवश्यक निर्णय गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ )महाप्रसाद अधिकारीले बताए । थ्री गर्जेजले आयोजनाको क्षमता घटाउन, अमेरिकी डलरमा बिजुली खरिदविक्रि सम्झौता (पीपीए), प्राविधिक, पुनर्वास तथा पुर्नस्थापना र पश्चिमसेती अझै वित्तीय रुपमा संभावना नरहेको जानकारी गराउदै थप शर्त थपेको उनले जानकारी दिए ।
यता बोर्डले डलर पीपीएको अवधि १० वर्षबाट बढाएर १२ वर्ष बनाउने, आयोजनाको क्षमता ६०० मेगावाट भन्दा कम गर्न सहमति जनाएको थियो । थ्री गर्जेजले उत्पादन हुने बिजुली प्रसारणका लागि प्रसारणलाइनको निर्माणलगायत विभिन्न मुद्धा उठाएर आयोजनाबाट बाहिरिन खोजेको देखिएको छ ।
पत्रकार सम्मेलनको आयोजना गरी थ्री गर्जेजले आयोजनाको प्रतिफल १७ प्रतिशत मागेको र १२.५ प्रतिशत मात्र हुने देखिएको उनले जानकारी दिए । उनीहरुको मागलाई सम्बोधन गर्दा पनि अझै पनि आयोजना संभाव्य नदेखिएको थ्री गर्जेजको भनाई आएको उनले सुनाए ।
थ्री गर्जेजले राखेका प्रस्ताव आउदो बोर्ड बैठकमा राखेर निर्णय गराउने अधिकारीले बताए । “उसका माग समेटेर बोर्डमा प्रस्ताव लैजाने छौ, बोर्डले जे निर्णय गर्छ त्यही कार्यन्वयन हुने छ” उनले भने । सुदुरपश्चिममा रहेको पश्चिम सेती आयोजना २५ वर्षदेखि अघि बढ्न सकेको छैन् ।
अष्ट्रेलियाको स्नोइ माउन्टेन कर्पोरेशन (स्मेक) ले गरेको संभाव्यता अध्ययनअनुसार आयोजना बनाउन १ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने देखाएको थियो । थ्री गर्जेजले पनि ६ वर्षभन्दा बढी समय आयोजना होल्ड गरेको छ ।(विकास न्युजबाट)