२६ माघ, काठमाण्डौ ।
पार्टी एकताको प्रयास गरिरहेको सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने भएको छ । १२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकका प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए । जसलाई स्थायी कमिटीले अनुमोदन गरेको थियो ।
प्रचण्डले प्रस्तावमा भनेका थिए,‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।’
माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले अध्यक्ष प्रचण्डले पार्टीको नाम, चुनाव चिन्ह र संरचना परिवर्तन गर्नेगरी प्रस्तुत राजनीतिक प्रस्ताव बैठकले पारित गरेको बताएका छन् । उनले यसका लागि पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गरेका छन् ।
प्रस्तावमा प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव अगाडि सारेका छन् । ‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने,’ उनले प्रस्ताव गरेका छन् । ‘तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने ।’
प्रचण्डले आधारभूत जनता र वर्गसँग सम्बन्ध टाढिँदा माओवादी खुम्चिँदै गएको पनि स्वीकारेका छन् । माओवादीले अहिले बाबुराम भट्टराई नेतृतवको नेपाल समाजवादी पार्टीसँग एकता प्रक्रिया अघि बढाइरहेको छ । बाबुरामले जसपामा रहदा नै निर्वाचन अघि नै पार्टी एकता गरी समाजवादी केन्द्रको प्रस्ताव गरेका थिए ।
यही विषयमा नेकपा एससँगपछि माओवादीले छलफल अघि बढाएको थियो । पछिल्लो समय भने नेकपा एस र जसपाबीच पार्टी एकता प्रक्रिया अघि बढेको छ । प्रस्तावमा प्रचण्डले २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा ३१ लाखभन्दा बढी मत पाएको माओवादी २०७९ सालमा ११ लाख ७५ हजारमा खुम्चँदै काठमाडौं उपत्यकामा निल हुनुको कारण खोतल्ने प्रयास गरेका छन् ।
प्रचण्डले पार्टीका नेताहरूले आफ्नो हैसियत र जिम्मेवारी प्रचारका लागि प्रयोग गरेपनि पार्टीको परिणामका लागि काम नगरेको आरोप लगाएका छन् । प्रचण्डको यो प्रस्ताव माओवादी स्थायी समिति बैठकले पास गरेपछि माओवादी अब नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको लामो समयपछि पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष नियुक्त गरी उपमहासचिव पम्फा भुसाललाई पनि उपाध्यक्षमा नियुक्त गर्दै माओवादीले वरीयता निर्धारण गरेको हो ।
वरीयतामा जनार्दन शर्मा भन्दा वर्षमान पुन शक्तिशाली देखिएका छन् । उनीहरु दुवै जना विगतमा महासचिवका दावेदार रहेका थिए । माओवादी केन्द्रले पहिलेकै वरीयतालाई यसपाली पनि निरन्तरता दिएर सूची तयार पारेको हो । पार्टीमा अध्यक्ष पुषपकमल दाहाल प्रचण्डपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् ।
तीन उपाध्यक्षहरुमा कृष्णबहादुर महरा पहिलो, सापकोटा दोस्रो र भुसाल तेस्रो वरियतामा छन् । त्यसपछि महासचिव देवप्रसाद गुरुङ छ । उपमहासचिवको वरियतामा क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादव अन्तिममा छन् । त्यस्तै ४५ सदस्यीय स्थायी समिति सदस्यहरुको समेत वरीयता निर्धारण गरिएको छ ।