१ फागुन ,काठमाण्डौ ।
नेपाली क्रिकेटमा कालो धब्बाका रुपमा रहेको नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’को अनुसन्धान सकिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको अनुसन्धान गरेको थियो । कीर्तिपुर मैदानमा गएको पुस ९ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २७ मा भएको थियो ।
काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए । गृह मन्त्रालयले ‘फिक्सिङ’ र स्पट फिक्सिङको अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबी सक्रिय भएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप), विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीलगायत निकायले अनुसन्धान गरेका थिए । अनुसन्धानकै क्रममा स्पट फिक्सिङमा सहभागी भएको आरोपमा यसअघि युवा अलराउन्डर महोम्मद आदिल अन्सारी, पूर्वक्रिकेटर मेहबुब आलम र नितेश गुप्ता पक्राउ परेका थिए ।
आदिलले नेपालबाट अन्तर्राष्ट्रिय खेलसमेत खेलिसकेका खेलाडी हुन् । उनले नेपालका लागि ६ एकदिवसीय अन्तर्राष्ट्रिय र आठ ट्वान्टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । उनलाई उदयीमान ‘फिनिसर’का रूपमा हेरिएको थियो ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मेहबुबले बाहिर बसेर स्पट फिक्सिङको प्रस्ताव गरेका थिए । आदिलले सो प्रस्ताव स्वीकार गरेका थिए । उनले लिगको एक खेलमा बलिङ गर्ने क्रममा स्पट फिक्सिङको योजनाअनुसार ‘नो बल’ फालेका थिए ।
सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीका अनुसार ११ जनालाई प्रतिवादी बनाइएको छ । तीनजना मात्रै पक्राउ परेका छन् । अन्य फरार छन् । विदेशी खेलाडी भने स्वदेश फर्किसकेका छन् । सुवेदीका अनुशार मंगलबारसम्ममा सरकारी वकिललाई फाइल बुझाउने तयारी छ ।
नेपाली पाँच र विदेशी छ जना गरेर ११ जनाको संलग्नता पुष्टि भएको छ । प्रतियोगिताकै दौरान राष्ट्रिय टोलीका सदस्य आरिफ शेखलाई पनि स्पट फिक्सिङको प्रस्ताव आएको खुलेको छ । तर, उनले सो प्रस्ताव अस्वीकार गरेको खुलेको छ ।
सीआईबीको अनुसन्धानमा क्रममा प्रतियोगिताकै चलिरहेकै बेला आदिलको खातामा चार लाख रुपैयाँ ‘डिपोजिट’ भएको देखिएको छ । यसबाहेक आदिलको ‘कनेक्सन’ जतिन अलुवालियासँग देखिएको थियो । जतिन क्यानले व्यावसायिक तथा रणनीतिक साझेदार बनाएको सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक हुन् ।
उनी प्रतियोगिता चलिरहेकै बेला भारत भागेका थिए । अन्य प्रतिवादीमा केही क्यारेवियन खेलाडी, सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक जतिन अलुवालियालगायत छन् ।