Nepal Times
Nepal Times
3
Shares

अक्षय कुमारले सेल्फी खिचेर गिनिज वर्ल्ड रेकर्ड बनाए

अक्षय कुमारले सेल्फी खिचेर गिनिज वर्ल्ड रेकर्ड बनाए

११ फागुन, एजेन्सी ।
भारतीय चलचित्र उद्योग बलिउडका चर्चित अभिनेता अक्षय कुमारले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन् । उनले तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड राखेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नो आगामी फिल्म ’सेल्फी’ को प्रमोशनको क्रममा उक्त रेकर्ड राखेका हुन्।

बुधबार मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफ्ना फ्यानसँग १८४ वटा सेल्फी लिएका थिए। अक्षयले उक्त कार्यक्रमका भिडिओ इन्स्टाग्राममा पोस्ट गरेका छन्। ’मैले जीवनमा जे प्राप्त गरेँ र म अहिले जहाँ छु, त्यो मेरा फ्यानहरूको निस्वार्थ मायाको कारण हो।

यो मेरो लागि खास छ र यो कुरा स्वीकार गर्दै उहाँहरूले मलाई साथ दिइरहनु भएको छ। मेरा फ्यानहरूको सहयोगमा हामीले ३ मिनेटमा धेरै सेल्फी खिचेर गिनिज वर्ल्ड रेकर्ड राखेका छौं। यो धेरै विशेष थियो र म यो सधैं सम्झनेछु,’ उनले लेखेका छन्।

अक्षयको यो पोष्ट हेरेपछि फ्यानदेखि सेलिब्रेटीसम्मले उनलाई बधाई दिइरहेका छन् । यसअघि यो कीर्तिमान अमेरिकाका जेम्स स्मिथको नाममा थियो। उनले २०१८ जनवरीमा कार्निभल ड्रिम क्रुज जहाजमा ३ मिनेटमा १६८ सेल्फी खिचेका थिए। त्यसअघि यो रेकर्ड ड्वेन जोनसनले २०१५ मा बनाएका थिए ।

उनले तीन मिनेटमा १०५ सेल्फी खिचेका थिए । अहिले अक्षयले तीन मिनेटमा १८४ सेल्फी खिचेर उनको रेकर्ड तोडेका हुन्। अक्षयको फिल्म ’सेल्फी’ आगामी शुक्रबारदेखि प्रदर्शन हुँदैछ। राज मेहताले निर्देशन गरेको फिल्ममा उनीसँगै अभिनेता इमरान हाशमीको पनि मुख्य भूमिका छ।

अक्षयको यही कीर्तिमानले उनको चलचित्रको प्रचारलाई समेत धेरै मद्धत गरेको चलचित्र समीकक्षहरुले बताएका छन् । यो फिल्म मलयालम फिल्म ’ड्राइभिङ लाइसेन्स’ को हिन्दी रिमेक हो। यस फिल्ममा इमरान प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । जहाँ अक्षय सुपरस्टार विजयको भूमिकामा देखिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.