१६ फागुन,एजेन्सी ।
जापानले अमेरिकासँग चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने भएको छ । प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकाबाट चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने तयारी भइरहेको बताएका हुन् । ‘हाम्रो देशको योजना चार सय युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,’ किसिदाले तल्लो सदनको बजेट समितिलाई बताएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
यसै महिनाको सुरुमा जापानी रक्षामन्त्रीले जापानले आगामी आर्थिक वर्षमा क्षेप्यास्त्र खरिदका लागि २११.३ अर्ब येन (१.५ अर्ब अमेरिकी डलर बराबर) छुट्याएको बताएका थिए । चीनको बढ्दो सैन्य प्रभाव र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको सामना गर्न किशिदा प्रशासनले जापानको प्रतिरक्षा क्षमता विस्तार गर्न चाहेको विश्लेषण हुँदै आएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
रूसले युक्रेनमाथि गरेको आक्रमण र चीनले ताइवानमाथि कब्जा जमाउन सक्ने आशङ्काकाबीच जापान सरकारको पछिल्लो निर्णय सार्वजनिक भएको हो । जापानसँग युद्धपछिको शान्तिवादी संविधान छ, जसले उसको सैन्य क्षमतालाई रक्षात्मक उपायहरूमा सीमित गर्दछ ।
तर, गत वर्ष प्रमुख सुरक्षा र प्रतिरक्षा नीतिहरू अद्यावधिक गर्दै चीनले खडा गरेको चुनौतीलाई देखाउँदै जापानले सन् २०२७ सम्ममा कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको नेटोको मापदण्डमा रक्षा खर्च दोब्बर बनाउने लक्ष्य राखेको थियो ।