Nepal Times
Nepal Times
3
Shares

लिग–२ को अन्तिम खेल,नेपाल भर्सेस यूएई

लिग–२ को अन्तिम खेल,नेपाल भर्सेस यूएई

१ चैत, एजेन्सी ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दैछ । नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान ९ः३० बजेदेखि हुने तालिका रहेको छ ।

नेपाल र यूएईबीचको खेल नै लिग–२ को अन्तिम खेल हुनेछ । तर कीर्तिपुरमा नेपाल र यूएई भिड्दा नेपालको मुख्य प्रतिस्पर्धा भने नामिबियासँग रहेको छ । साथै नेपाल र यूएईबीचको खेलले नै लिग–२ को शीर्ष ३ मा रहने अन्तिम टुंगो लाग्नेछ ।

लिग–२ को च्याम्पियन बनिसकेको स्कटल्यान्डसँगै दोस्रो स्थानमा रहेको ओमानको पनि शीर्ष ३ को स्थान सुरक्षित भइसकेको छ । बाँकी एक स्थानको लागि नामिबिया र नेपालबीच प्रतिस्पर्धा चलिरहेको छ । ३६ वटै खेल खेलिसकेको नामिबिया ३९ अंकसहित अहिले तेस्रो स्थानमा छ ।

३५ खेल खेलेको नेपालको भने ३८ अंक छ । नेपालले बिहीबारको खेलमा यूएईलाई पराजित गरे, नेपालले नामिबियालाई पछि पार्दै तेस्रो हुनेछ । यदि नेपालले खेल हारे चौथो स्थानमा सिमित हुनेछ । लिग–२ अन्तर्गत शीर्ष ३ मा रहने टिम सिधै विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्, जबकि पुछारका चार टिमले विश्वकप छनोटमा स्थान बनाउनका लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

त्यसैले विश्वकप छनोटमा स्थान बनाउन नेपालले अन्तिम खेलमा यूएईलाई पराजित गर्नुपर्ने भएको छ । सन् २०२२ को फेब्रुअरी १८ देखि २४ तारिखसम्म यूएईमा भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायरको समूह चरणको तीनवटै खेल नेपालले जितेर सेमिफाइनलमा स्थान बनाएको थियो ।

अर्कोतर्फ आयोजक यूएई भने समूहको उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेपछि नेपालको विश्वकपको यात्राको अन्तिम खुड्किलोमा यूएई बाधक बनेको थियो । उक्त छनोटको फाइनलमा स्थान बनाउने दुई टिमले विश्वकपमा स्थान बनाउने समीकरण रहेको थियो ।

तर सेमिफाइनलमा भने यूएईसँग ६८ रनको पराजय भोगेपछि नेपालले अस्ट्रेलियामा गत वर्ष सम्पन्न टी–ट्वान्टी विश्वकप खेल्नबाट नेपाल चुक्यो । यूएई भने विश्वकपका लागि छनोट भएको थियो । यस पटक पनि नेपालको विश्वकप छनोटमा स्थान बनाउनका लागि यूएई नै अन्तिम खुड्किलोको रुपमा आएको छ ।

नेपालले पछिल्ला ११ खेलमा देखाएको प्रदर्शन तथा यूएईमाथि नै दर्ता गरेको जितका कारण नेपाल अहिले बलियो स्थितिमा देखिन्छ । नेपालले पछिल्ला ११ मध्ये १० खेलमा जित हात पार्दा २ पटक यूएईलाई पराजित गरेको छ । एक खेलमा पराजय पनि यूएईसँग नै भएको छ ।

तर यूएईविरुद्धको अन्तिम खेल नेपालले १ सय ७७ रनले जित्दा यूएई ७१ रनमै समेटिएको थियो । सो नतिजाले पनि नेपाल यूएईमाथि हावी रहेको र अन्तिम खेलमा पनि नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रने र विश्वकप छनोटको टिकट सुरक्षित गर्ने निश्चित देखिन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.