रजत पदक जित्न सफल खेलाडीलाई जनही रु पाँच लाख

रजत पदक जित्न सफल खेलाडीलाई जनही रु पाँच लाख

काठमाडौँ, भदौ १६
इण्डोनेसियामा जारी १८ आँै एशियाली खेलकूदमा रजत पदक जित्न सफल प्याराग्लाइडिङका खेलाडीले जनही रु पाँच÷पाँच लाख पाउने भएका छन् ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को २०६८ साल चैत २१ गतेको सञ्चालक समिति बैठकले एशियाडमा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण जिते रु २५ लाख, रजत जिते १५ लाख र कास्य जिते रु १० लाख तथा समूहगत स्पर्धातर्फ स्वर्ण जिते प्रतिखेलाडी रु १०, रजत जिते रु पाँच र कास्य जिते रु दुई लाख दिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार नेपाली प्याराग्लाइडिङ टोलीले अब जनही रु पाँच लाख पाउने नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले जानकारी दिए । विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापाको नेपाली टोलीले प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा नेपाललाई रजत दिएको थियो ।

यस्तै प्रशिक्षकद्वय योगेश भट्टराई र सानुबाबु सुनुवारले जनही रु तीन लाख पाउने छन् । त्यसैगरी पदक दिलाएबापत प्रशिक्षक र खेल सङ्घलाई समेत पुरस्कार दिने निर्णय भएको थियो । सोही निर्णयअनुसार प्याराग्लाइडिङ सङ्घले पनि रु छ लाख पाउने भएको छ । इण्डोनेसियामा रजत पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको नेपाली प्याराग्लाइडिङ टोली आइतबार बेलुका नेपाल आइपुग्ने महासचिव रावतले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.