Nepal Times
Nepal Times
3
Shares

रुसी राष्ट्रपतिमाथि युद्ध अपराधको आरोप/पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

रुसी राष्ट्रपतिमाथि युद्ध अपराधको आरोप/पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

४ चैत ,एजेन्सी ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने लगायतका युद्ध अपराधका लागि उनी जिम्मेवार रहेको आरोप लगाएको छ ।

आईसीसीका न्यायाधीशहरूले पुटिनसहित मारिया अलेक्सेभना लभोभा–बेलोभाविरुद्ध पक्राउ वारेन्ट जारी गरेको हो । मारिया रुसको बाल अधिकार आयुक्त हुन् । युक्रेनमा आक्रमणपछि युक्रेनी बालबच्चालाई गैरकानुनी रुपमा रुस लगिएको हुँदा उनलाई समेत अन्तर्राष्ट्रिय अपराधको दायरामा पक्राउ पुर्जी जारी गरिएको हो ।

युक्रेनमा २४ फेब्रुअरी २०२२ बाट रुसले युक्रेनमाथि हमला गरेको आईसीसीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत नेदरल्यान्डसस्थित अन्तर्राष्ट्रिय स्थायी न्यायाधिकरण संयन्त्र हो । जसमा जन–नरसंहार, मानवताविरुद्धको अपराध, युद्ध अपराध र आक्रमणको अपराधको लागि अपराधीहरूकोविरुद्ध मुद्दा चलाइन्छ ।

पुटिन र रुसविरुद्ध युद्ध अपराधमा यहि फेबुअरी २२ मा मुद्दा दायर भएको थियो । यस अदालत रोम स्टेट्युटमार्फत् गठन भएको हो । यता मस्कोले आक्रमणका क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ताले पक्राउ पुर्जी अर्थहीन भएको बताएका छन् । “अन्तर्राष्ट्रिय फौजदारी अदालतका निर्णयले हाम्रो देशका लागि कानुनी दृष्टिकोण सहितको कुनै अर्थ राख्दैनन्,“ मारिया जाखारोभाले भनेकी छिन् ।

उनले त्यसो भन्नुको कारण पक्राउपुर्जी जारी भए पनि आईसीसीसँग सन्दिग्धलाई गिरफ्तार गर्ने कुनै शक्ति छैन र अदालत स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरिएका देशहरूमा मात्र उसले आफ्नो अधिकारको प्रयोग गर्न सक्छ । रुस आईसीसीसम्बन्धी सम्झौताको हस्ताक्षरकर्ता होइन, त्यसले गर्दा पनि उक्त देशबाट सुपुर्दगी हुने सम्भावना छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.