१० चैत, विराटनगर ।
कोशी प्रदेशको पुनः नामाङ्कनको माग गर्दै भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइते भएका लाजेहाङ लिम्बू (पदम लिम्बू) को निधन भएपछि कोशीप्रदेशमा थप आन्दोलनमय हुने भएको छ । आफ्ना नेता पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आज बसेको आपतकालीन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामङ्कनको माग सम्बोधन नगरुञ्जेल र आन्दोलनकारी योद्धा पदम लिम्बू (लाजेहाङ)लाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान पनि राखेका छन् ।
यस्तै बैठकले मृतक परिवारलाई तत्कालका लागि प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको तर्फबाट आजै बेलुकीसम्ममा नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ । संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले पदम लिम्बूको तस्बिर आजदेखि सहिदको रुपमा हरेक कार्यक्रममा सम्मानार्थ बोक्ने निर्णय पनि गरेको छ । बैठकले आज बेलुका ५ बजेदेखि ६ बजेसम्म प्रदेशका सबै जिल्ला र काठमाडौंमा विरोधसभा गर्ने, चैत ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने निर्णय पनि गरेको छ ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा लिम्बूको राति निधन भएको छ । पुनः नामाङ्कनका लागि चैत ५ गते विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो। प्रहरीको लाठी चार्जबाट लिम्बूको टाउकोमा चोट लागेको थियो। घरमै आराम गरिरहेका लिम्बू बेहोस भएपछि बुधबार राति १२ बजे प्रतिष्ठानमा भर्ना गरिएको थियो।