Nepal Times
Nepal Times
3
Shares

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

१२ चैत, एजेन्सी ।
भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका चालक दललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । चैत्र १० गते सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न उनीहरुलाई तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको हो ।

गत शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज झन्डै ठोक्किएका थिए । १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किने अवस्था आएको थियो।

नेपाल एयरलाइन्सको जहाज पनि ७ हजार फिट तल ओर्लिएपछि सम्भावित ठूलो दुर्घटना टरेको थियो । नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटको उचाइमा होल्ड गरिरहेको बेला एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिट तल आएको थियो । दुवै जहाज आमनेसामने भएपछि दुवैको ककपिटमा ‘ट्राफिक अलर्ट’ ले सावधानी गराएको थियो ।

नेपाल एयरलाइन्सको जहाजलाई विमानस्थलको तल्लो भागमा र एयर इन्डियाको जहाजलाई माथिल्लो भागमा अवतरण गराइएको थियो । प्राधिकरणले यस घटनामा संलग्नलाई कारबाही गर्न भारतीय नागरिक उड्डयन कार्यालय (डीजीसीए इन्डिया) लाई पत्राचार गर्ने भएको छ ।

‘शुक्रबार भएको यो घटनामा त्यही दिन एयर इन्डियाको विमान काठमाडौंमा अवतरण भएपछि सोधपुछ गरिएको थियो,’ प्राधिकरणका एक उपनिर्देशकले भने, ‘त्यसदिन एयर इन्डियाका पाइलट–इन–कमाण्डले गल्ती भएको जनाउँदै माफी मागेका थिए ।

तर नेपालको नागरिक उड्डयन प्राधिकरणले उनलाई कारबाही गर्न नमिल्ने भएकाले भारतको नागरिक उड्डयन कार्यालय (डीजीसीए) लाई पत्र पठाउँदै छौं । त्यो निकायले कारबाही फुकुवा नगरुन्जेल उनलाई नेपालमा हुने उडानमा प्रतिबन्ध लगाइएको छ ।’

यो घटनामा प्राधिकरणले एयर कन्ट्रोलरका दुई कर्मचारीलाई पनि कारबाही गरेको छ । प्राधिकरणले उक्त समय कन्ट्रोल रूममा रहेका दुई अधिकारीलाई तत्कालको लागि निष्क्रिय रहन निर्देशन दिएको हो । ती कर्मचारीहरूको नाम खुलाइएको छैन ।

पछिल्लो समय प्राधिकरणले उडड्न क्षेत्रको सुरक्षालाई अत्यन्त प्राथमितामा राखी कुनैपनि लापरवाही हुन् साथ तत्काल कारबाही गर्दै आएको छ । केही साता अघि मात्रै केही कर्मचारी र विमान चालक समेत कारबाहीमा परिसकेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.