१६ चैत, काठमाण्डौ ।
लामो समयको पर्खाईपछि आज मन्त्रिपरिषद् विस्तार हुने भनिएको छ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएसँगै आज मन्त्रिपरिषद् विस्तार हुने नेताहरूले बताएका छन् । नयाँ मन्त्रीहरूको शपथ पनि आजै गराउने तयारी रहेको बताइएको छ ।
सरकारमा नौ दल सहभागी हुने भएका छन् । यसअघि बुधबार पनि मन्त्री परिषद् विस्तार हुने बताइएको थियो । तर दलहरुबीच मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रीपरिषद् विस्तार हुन् सकेको थिएन । बुधबार अबेरसम्म बसेको गठबन्धन बैठकमा मन्त्रालय भागबन्डामा सहमति जुटेको थियो ।
बुधबारको बैठकमा कांग्रेसलाई आठ, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित पाँच, नेकपा एकीकृत समाजवादीलाई दुई, लोसपा १, नागरिक उन्मुक्ति पार्टी १, प्रभु शाह १, जनमतलाई थप १ राज्य मन्त्री, नेसपालाई १ र जसपालाई दुई मन्त्रालय दिन सहमति भएको थियो ।
तर, कुन दलले कुन मन्त्रालय लिने भन्ने विषय भने टुंग्याउन बाँकी छ । यसबारे दलहरूबीच बालुवाटारमा पुन ः छलफल जारी छ । तर यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जारी सत्तारुढ गठबन्धनको बैठकबाट बिदा लिएर चितवनतर्फ लागेका छन् ।
चितवनमा विमानस्थल भवनको शिलान्यासका लागि बालुवाटारबाटै हेलिकप्टरमार्फत उनी चितवनतर्फ लागेका हुन् । अब उनी चितवनबाट फर्केपछि दिउँसो २ बजे पुनः सत्ता गठबन्धन बैठक बस्नेछ । यो बैठकले कुन दलले कुन मन्त्रालय पाउने भन्ने निर्णय गर्नेछ ।
कांग्रेसले अर्थ, रक्षालगायत मन्त्रालय लिने लगभग सहमति भइसकेको छ । उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रीमा उपसभापति पूर्णबहादुर खड्का र अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महतलाई पठाउने कांग्रेसको तयारी छ । कांग्रेसले स्वास्थ्य, ऊर्जालगायत मन्त्रालय पनि आफूहरूले पाउनुपर्ने बताइरहेको छ ।
भौतिक पूर्वाधार, स्वास्थ्य, सहरी विकास, ऊर्जा लगायतमा एकभन्दा बढी दलले दाबी गरेकोले सहमति हुन सकिरहेको छैन । एकीकृत समाजवादीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शिक्षा मन्त्रालय दिने प्रस्ताव प्रधानमन्त्रीको छ ।
एकीकृत समाजवादीले उपाध्यक्ष बेदुराम भूसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्री बनाउने तयारी गरेको छ । सत्ता गठबन्धन बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार कुन दलले कुन मन्त्रालय लिने सहमति भएपछि आजै बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुनेछ ।
‘दलहरूले मन्त्रीका नाम दिएपछि आज बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ,’ उनले भने । सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ । गत चैत ६ मा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको रास्वपा पनि तत्काल सरकारमा नजाने भएको छ ।