१६ चैत , विराटनगर ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारले धरान खानेपानी आयोजनाको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । मेयर साम्पाङले आन्दोलनरत मिटरब्याजी पीडितहरूको प्रसंग जोड्दै सरकारले आफैले मिटरब्याजी जस्तै चर्को ब्याज आफूहरूबाट अशुलेको बताएका छन् ।
एसियाली विकास बैंक(एडिबी)बाट १ प्रतिशत व्याजमा ऋण लिएर धरानका जनतालाई ५ प्रतिशतमा दिएको बताउँदै उनले मिनाहा नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । मेयर साम्पाङले ऋण मिनाहाका लागि आफूले पटक–पटक सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेपनि यसको सुनुवाइ नभएको गुनासो समेत गरेका छन् ।
धरानमा सरकारले एसियाली विकास बैंक (एडिबी) को अनुदान तथा ऋण सहयोगमा खानेपानी आयोजना सम्झौता गरेको थियो । बिहीबार सामाजिक सञ्जालमा मेयर साम्पाङ लेख्छन्,’मिटर ब्याजको कुरा भइरहँदा धरानमा एडिबीको ऋणमासमेत नेपाल सरकार आफैले त्यसो गरेको छ ।
१% मा लिएर ५% मा हाम्लाई दिएको छ । यो ऋण मिनाह गरिदिन सम्बन्धित मन्त्रालयलाई मैले अनुरोध पनि गरें तर सुनुवाइ भएन । ध्यान जावोस यता पनि नत्र म पनि आन्दोलनमा कुद्नु पर्ने दिन आउनेछ ।’ तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौँ पुगेका मिटरब्याज पीडितहरूले सोमबारदेखि प्रदर्शन गरिरहेका छन् ।
सुरुमा खुल्लामञ्च बाहिर प्रद्धर्शन गरेका उनीहरूले त्यसयता पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, माइतीघरलगायतका ठाउँमा विरोध प्रदर्शन गरिरहेका छन् । पीडितहरूको माग पूरा गर्न हिजो बसेको प्रतिनिधिसभा बैठकमा पनि सांसद्हरूले माग गरेका थिए । उनीहरुका माग सम्बोधन गर्न सरकारले वार्ता समिति पनि बनाएको छ ।