रविपछि सुधनको विचार पनि हिन्दुस्तान टाइम्समा प्रकाशित

१२ कात्तिक २०८३, बिहीबार
Share this
703shares

१२ कार्तिक,काठमाण्डौ ।

Advertisement

केही दिनअघि विमस्टेक सम्मेलनमा सहभागी भई भारतबाट फर्केका गृहमन्त्री सुधन गुरुङको एउटा लेख भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित भएको छ । जसको चर्चा अहिले नेपाली संचारमाध्यम तथा सामाजिक संजालहरुमा भइरहेको छ ।

लेखमा गुरुङले भारत र नेपालले आपसमा मिलेर दुई देशका विद्यमान साझा चुनौती सम्बोधन गर्न सकिने बताएका छन् । उक्त आलेखमा गृहमन्त्री गुरुङले हालै नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा आफ्नो सहभागिताको प्रसंग जोड्दै नेपाल र भारतले सामना गरिरहेका चुनौती समाधानका लागि मिलेर काम गर्न सकिने बताएका हुन् ।

Advertisement

गुरुङले आलेखमा सुरक्षा सहकार्य, विपद् पूर्वतयारी, व्यावहारिक कूटनीति, जनस्तरको सम्बन्ध र क्षेत्रीय सहकार्यलगायत मुख्य विषय उठान गरेका छन् । सुरक्षा सहकार्यको सन्दर्भमा गृहमन्त्री गुरुङले सीमापार अपराध, लागुऔषध तस्करी, साइबर अपराध र आतंकवाद नियन्त्रण गर्न गुप्तचर सूचना तथा जानकारी आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

दुवै देशले लागुऔषध तस्करी र दुव्र्यसनको समस्यालाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ । आफ्नो युवावस्थाको धेरै समय काठमाडौंको चर्चित पर्यटकीय क्षेत्र ठमेलमा बिताएको स्मरण गर्दै गृहमन्त्री गुरुङले त्यहाँ हुर्किने क्रममा समाजका विभिन्न पक्षलाई नजिकबाट बुझ्ने अवसर पाएको र त्यसमध्ये लागुऔषधले व्यक्ति र तिनका परिवारमा पार्ने नकारात्मक प्रभावबारे बुझ्न पाएको उल्लेख गरेका छन् ।

Advertisement

उनले लेखेका छन्, पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका लागि म नयाँ दिल्ली जाँदा मसँग एउटा स्पष्ट उद्देश्य थियोः आम नागरिकलाई असर गर्ने समस्याहरू समाधान गर्न नेपाल र यसको छिमेकी मिलेर कसरी काम गर्न सक्छन् भन्ने विषयको खोजी गर्नु ।

हाम्रा देशहरूका प्राथमिकताहरू फरक हुन सक्छन्, तर हामीले सामना गरिरहेका धेरै चुनौतीहरू उस्तै छनः लागुऔषध ओसारपसार, साइबर अपराध, आतंकवाद र प्राकृतिक विपद् राष्ट्रिय सीमानामा रोकिँदैनन् ।

उनले लगाडि लेखेका छन्, यस सन्दर्भमा महत्त्वपूर्ण कुरा के हो भने हामी संवादलाई कसरी र कुन रूपमा कार्यमा बदल्छौंः छिटो सूचना आदानप्रदान गर्ने, अपराधीहरूले दुरुपयोग गर्ने छिद्रहरू बन्द गर्ने र क्षति हुनबाट रोक्ने ।

दुई देशबीचको ऐतिहासिक र निरन्तरको सम्बन्ध–हाम्रा समुदाय, संस्कृति (साझा सम्पदासहित), व्यापार–व्यवसाय, रोजगारी र जीविकोपार्जन–सिमानाका दुवैतर्फ भएका राजनीतिक परिवर्तनहरूका बाबजुद पनि कायमै छन् ।

यो दीर्घकालीन मित्रताले परिवारहरूलाई थप सुरक्षित, व्यवसायहरूलाई अझ बलियो, समुदायहरूलाई विपद्का लागि अझ तयार र अवसरहरूलाई थप पहुँचयोग्य बनाउन मद्दत गर्नुपर्छ। यसको सुरुवात साझा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि सँगै काम गरेर हुनुपर्छ ।

सुरुवाती रूपमा, दुवै देशले लागुऔषध ओसारपसार र दुव्र्यसनतर्फ ध्यान केन्द्रित गर्नुपर्छ। मैले मेरो युवावस्थाको धेरै समय काठमाडौँको प्रख्यात पर्यटकीय क्षेत्र ठमेलमा बिताएँ । त्यहाँ हुर्किँदै गर्दा मैले समाजका धेरै पाटाहरू देखेँ, जसमा लागुऔषधले व्यक्ति र उनीहरूका परिवारलाई पु¥याउने क्षति पनि सामेल छ ।

उनले अगाडी लेखेका छन्, लागुऔषध ओसारपसारमा मेरो धारणा स्पष्ट छः अवैध लागुऔषध उत्पादन, लगानी र वितरण गर्नेहरूले कानुनको पूर्ण कारबाही भोग्नुपर्छ । धन, प्रभाव र राजनीतिक पहुँचले कसैलाई पनि न्यायको कठघराबाट जोगाउनु हुँदैन।

साथै, हामीले यस व्यापारबाट नाफा कमाउनेहरू र दुव्र्यसनसँग जुधिरहेकाहरू बीचको भिन्नता छुट्ट्याउनै पर्छ। कडा कानुन कार्यान्वयनसँगै रोकथाम, उपचार र पुनस्र्थापना पनि सँगसँगै अगाडि बढ्नुपर्छ ।

नेपाल र भारतले गुप्तचर सूचना आदानप्रदान गरेर, ओसारपसारका मार्गहरू पत्ता लगाएर, वित्तीय कारोबार (पैसाको स्रोत) पछ्याएर र लागुऔषध बोक्ने भरिया मात्र नभई यस व्यापार पछाडिका सञ्जालहरूलाई पछ्याएर सहकार्यलाई बलियो बनाउन सक्छन्। हाम्रो खुला सिमाना हाम्रो सम्बन्धको एक बहुमूल्य पाटो हो ।

यसले परिवार, जीविकोपार्जन र व्यवसायलाई टेवा पु¥याउँछ। त्यसैले, सर्वसाधारण जनताको जीवनलाई अनावश्यक रूपमा कष्टकर नबनाई अपराधीहरूले यसको दुरुपयोग गर्नबाट हामीले रोक्नुपर्छ। उत्कृष्ट प्रविधि, समयमै सूचना आदानप्रदान र समन्वयात्मक अनुसन्धानले अपराधविरुद्ध कडा कदम चाल्दै वैध आवतजावतका लागि सीमा खुला राख्न मद्दत गर्न सक्छ ।

आतंकवाद र हिंसात्मक उग्रवाद अर्को साझा चुनौतीका रूपमा रहेका छन् । उग्रवादी सञ्जालहरूले अनलाइन प्लेटफर्म, गलत सूचना (भ्रामक प्रचार) र व्यक्तिगत असन्तुष्टिहरूलाई प्रयोग गरेर कमजोर व्यक्तिहरूलाई प्रभावित पार्न र भर्ती गर्न सक्छन्।

यी सञ्जालहरूले कसरी काम गर्छन्, पैसा कसरी संकलन गर्छन् र आफ्नो प्रभाव कसरी फैलाउँछन् भन्ने कुरा हामीले बुझ्न आवश्यक छ। हाम्रा निकायहरूले सान्दर्भिक सूचनाहरू आदानप्रदान गर्नुपर्छ र हिंसाको अनुसन्धान तथा रोकथाम गर्ने आफ्नो क्षमतालाई सुदृढ बनाउनुपर्छ ।

गुरुङले उक्त आलेखमा लेखेका छन्, सीमा क्षेत्रहरूमा राजनीतिक, वैचारिक, आपराधिक वा भूराजनीतिक उद्देश्यहरू बोकेका तत्वहरूद्वारा धार्मिक, जातीय र सांस्कृतिक पहिचानको हुन सक्ने दुरुपयोगप्रति ध्यान दिनुपर्छ।

हाम्रो ध्यान गैरकानुनी आचरण, हिंसा भड्काउने कार्य र यसलाई सहज बनाउने सञ्जालहरूमाथि नै केन्द्रित हुनुपर्छ । जनताको विश्वास पनि उत्तिकै महत्त्वपूर्ण छ। जब नागरिकहरूसँग निष्पक्ष व्यवहार गरिन्छ, तब उनीहरूले कानुन कार्यान्वयन गर्ने निकायहरूलाई सहयोग गर्ने सम्भावना बढी हुन्छ।

सुरक्षाका उपायहरू त्यतिबेला सबैभन्दा बढी प्रभावकारी हुन्छन् जब बलिया संस्थाहरूले समुदायसँग मिलेर काम गर्छन्। हाम्रो लक्ष्य हामीले सेवा गर्ने जनताको अधिकार र आत्मसम्मानको रक्षा गर्दै हिंसा रोक्नु हुनुपर्छ।

तेस्रो चुनौती साइबर अपराधले कुनै खतरा कति छिटो सीमा पार गर्न सक्छ भन्ने देखाउँछ। टाढा बसेर काम गर्ने एक ठगले फोन कल, सन्देश वा अनलाइन कारोबारमार्फत कुनै परिवारको जीवनभरको बचत चोर्न सक्छ। अपराधको सूचना दिइन्जेलसम्म त्यो रकम धेरै खाता र देशहरू पार गरिसकेको हुन सक्छ।

हाम्रो प्रतिक्रिया पनि अपराध जत्तिकै छिटो र अन्तरसम्बन्धित हुनुपर्छ । नेपाल र भारतले छिटो सूचना आदानप्रदान, सुदृढ डिजिटल अनुसन्धान सीप र चोरी भएको रकम पत्ता लगाउन तथा दोषी पहिचान गर्न थप प्रभावकारी सीमापार प्रक्रियाहरूका माध्यमबाट सहकार्यलाई सुधार गर्न सक्छन्।

डिजिटल सुशासन र प्रविधिमैत्री सार्वजनिक सेवामा भारतको अनुभवले नेपालका लागि बहुमूल्य पाठहरू प्रदान गर्दछ। हाम्रा प्रहरी अधिकारीहरू, अनुसन्धानकर्ताहरू र प्राविधिक विज्ञहरूबीच थप व्यावहारिक आदानप्रदान पक्कै पनि आवश्यक छ।

गृहमन्त्री गुरुङले अगाडि लेखेका छन्, बलियो साझेदारीले दुवै देशले एकअर्काबाट के सिक्न सक्छन् भन्ने कुरालाई स्वीकार गर्छ। समुदाय परिचालन, विपद् प्रतिकार्य र कठिन हिमाली भूभागमा काम गर्ने सन्दर्भमा नेपालसँग बहुमूल्य अनुभव छ। हामीले तयारी सुरु गर्न कुनै आपत्कालीन अवस्थाको पर्खाइमा बस्नु हुँदैन ।

भूकम्प, बाढी, पहिरो र हिमताल विस्फोटले सीमापारिका समुदायहरूलाई असर गर्न सक्छन्। अझ राम्रो पूर्वसूचना प्रणाली, मौसम र नदीसम्बन्धी तथ्याङ्कको समयमै आदानप्रदान, र संयुक्त उद्धार अभ्यासले जीवन बचाउन र क्षति न्यूनीकरण गर्न मद्दत गर्न सक्छ।

यसका लागि हामीलाई भरपर्दो सञ्चार माध्यम, सीमापार सहायताका लागि स्पष्ट प्रबन्ध र विपद् व्यवस्थापन निकायहरूबीच निकट समन्वय आवश्यक पर्दछ । बिमस्टेक बैठकमा मैले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि क्षेत्रीय ढाँचाको प्रस्ताव गरेको थिएँ ।

मलाई आशा छ कि यसले देशहरूलाई सँगै तयारी गर्न र छिटो सहायता उपलब्ध गराउन व्यावहारिक प्रबन्धतर्फ डो¥याउनेछ । उक्त लेखमा मन्त्री गुरुङ लेख्छन्, सहकार्यले व्यवसाय र श्रमिकहरूका लागि पनि अझ राम्रा अवसरहरू सिर्जना गर्नुपर्छ ।

गृहमन्त्री अमित शाहसँगको मेरो भेटका क्रममा मैले भारतीय मानक ब्युरोबाट प्रमाणीकरण प्राप्त गर्न नेपाली निर्यातकर्ताहरूले भोग्नुपरेका कठिनाइहरूको विषय उठाएको थिएँ । सहमति भएका गुणस्तर र सुरक्षा आवश्यकताहरूको अधीनमा रहेर नेपाल र भारतले उत्पादन प्रमाणीकरणको आपसी मान्यतालाई थप खोजी गर्नुपर्छ।

यसले अनावश्यक लागत घटाउन, दोहोरो परीक्षणलाई हटाउन र दुवैतर्फका व्यवसायीहरूका लागि सहज बनाउन सक्छ । सुरक्षा र आर्थिक अवसरहरू एकअर्कासँग निकट रूपमा जोडिएका छन् । जब मानिसहरूले जीविकोपार्जन गर्न सक्छन् र व्यापार फस्टाउँछ, तब समुदायहरूसँग स्थिर भविष्य निर्माण गर्ने थप अवसरहरू हुन्छन् ।

इमानदार नेतृत्व, जवाफदेही संस्थाहरू र सुलभ सार्वजनिक सेवाका लागि जनताको उच्च अपेक्षासहित नेपाल राजनीतिक परिवर्तनको दौरबाट गुज्रिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतको नेतृत्वबीच हालै भएको संवादले वार्ताका लागि अर्को अवसर सिर्जना गरेको छ ।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणले यसलाई थप गति दिन सक्छ । सुधन गुरुङको विचार छ, छिमेकीहरू सधैं हरेक विषयमा सहमत नहुन सक्छन् । त्यो स्वाभाविक हो । महत्त्वपूर्ण कुरा के हो भने हामी हाम्रा मतभेदहरूमा इमानदारीपूर्वक छलफल गर्न, एकअर्काको अडानको सम्मान गर्न र हाम्रा हितहरू मिल्ने ठाउँमा मिलेर काम गर्न सक्छौं कि सक्दैनौं ।

बलियो साझेदारीका लागि एउटा देशले अर्को देशलाई पछ्याइरहनु पर्दैन। यसका लागि दुवैले सहकार्यको महत्त्वलाई बुझ्न आवश्यक हुन्छ । नेपाल र भारतका लागि प्राथमिकताहरू स्पष्ट छन्ः सुरक्षा निकायहरूबीच अझ राम्रो सञ्चार, आपराधिक सञ्जालहरूका लागि अवसरहरूको कटौती, सहज तथा न्यायोचित व्यापार, र प्राकृतिक विपद्को सामना गरिरहेका समुदायहरूका लागि बलियो सुरक्षा।

यी लक्ष्यहरू हासिल गर्न विश्वास, व्यावहारिक सहयोग र हाम्रा प्रतिबद्धताहरू पूरा गर्ने दृढ संकल्प आवश्यक छ। नेपाल र भारतले पुस्ताौंदेखि निर्मित मित्रता विरासतका रूपमा पाएका छन्। हाम्रो काम त्यो मित्रतालाई नयाँ पुस्ताका लागि अझ बढी अर्थपूर्ण बनाउनु हो ।

यसअघि रास्वपा सभापति रवि लामिछानेले पनि भाजपाको निमन्त्रणमा दिल्ली जाँदा त्यहाँको संचारमाध्यममा आफ्नो विचार प्रकाशित गरेका थिए । यस्तै अर्थमन्त्री स्वर्णिम वाग्लेको भने हालै भारतीय एक टेलिभिजनलाई दिएको अन्तर्वार्ता र एक कार्यक्रमका बीच भारतीय विदेशमन्त्रीलाई सोधेको एक प्रश्नले भने आलोचना बढाएको छ ।

रविले दिल्ली भ्रमणका बेला प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेताहरुसंग भेटघाट गरेका थिए भने गृहमन्त्री गुरुङले समकक्षी अमित शाहसहित अन्य देशका समकक्षीहरुसंग भेटवार्ता गरेका थिए । यस्तै अर्थमन्त्री वाग्लेले पनि मोदीसहितका नेताहरुसंग औपचारिक, अनौपचारिक भेट गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top