१४ चैत, एजेन्सी ।
बोलेकै भरमा सांसद पद गुमाएका भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न पनि आदेश दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिजसमेत जारी गरिसकेको छ ।
उता लोकसभाको सांसद सुची रहेको वेबसाइटबाट पनि नाम हटाउँदै राहुल गान्धी निर्वाचित क्षेत्र वायनाडलाई रिक्त घोषितसमेत गरिएको छ । गान्धीको सो निर्वाचन क्षेत्र खाली भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन घोषणाको तयारीसमेत सुरु गरेको छ ।
कांग्रेस नेता गान्धीलाई गत बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मोदीविरुद्ध बोलिएको मानहानीको मुद्दामा दुई वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाएपछि उनीमाथि निरन्तर प्रहार हुँदै आएको छ ।
राहुल गान्धीको सांसद पद खारेजीलाई भारतीय लोकतन्त्रमा सबैभन्दा ठूलो उपहासको रुपमा लिएको छ भने देशैभरी सो निर्णयको विरोध भइरहेको छ । यसैलाई लिएर सोमबार भारतको संसद् पनि तनावग्रस्त बनेको थियो । सोमबार संसद्मा विपक्षी सांसदहरुले विरोध चर्काएपछि राज्यसभा र लोकसभा बैठक निर्धारित समयमा सुरु हुन सकेको थिएन ।
लोकसभा बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको थियो । संसद् बैठकमा कांग्रेस सांसदहरु विरोधस्वरुप कालो पहिरनमा पुगेका थिए । भारतीय अदालतले गान्धीको मुद्दामाथि गरेको फैसलामा अमेरिकाले समेत नजर राखेको छ । यो कुरा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले यस्तो खुलासा गरेका हुन् ।
उनले अमेरिकाले भारत सरकारसँग अभिव्यक्ति स्वतन्त्रता सहित लोकतान्त्रिक मूल्यहरूको साझा प्रतिबद्धता खोजेको बताएका छन् । वेदान्त पटेललाई राहुल गान्धीको संसद सदस्यता रद्द गर्ने विषयमा प्रश्न सोधिएको थियो। “कानूनको शासन र न्यायिक स्वतन्त्रताको सम्मान कुनै पनि लोकतन्त्रको आधार हो र हामी भारतीय अदालतमा राहुल गान्धीको मुद्दा हेरिरहेका छौं,“ उनले पत्रकार सम्मेलनमा भनेका छन् ।