१७ चैत, एजेन्सी ।
भारतको मध्य प्रदेशको एक मन्दिरमा पूजा गर्ने क्रममा इनारमा खसेर कम्तीमा ३५ जनाको मृत्यु भएको छ । इन्दोर सहरमा भएको दुर्घटनामा अन्य १४ जनाको उद्धार गरिएको र एकजना अझै बेपत्ता रहेको बताइएको छ । इनारमाथि बनाइएको कंक्रिटमा धेरे जना उभिएपछि बढी तौलका कारण उक्त कंक्रिट खसेर मानिसहरू इनारमा परेको प्रहरीले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट अत्यन्तै दुखित भएको बताएका छन् । बिहीबार रामनवमीको अवसरमा बेलेश्वर महादेव झुलेलाल मन्दिरमा आयोजना गरिएको प्रार्थनाका क्रममा यो दुर्घटना भएको हो । उक्त इनार करिब १२ मिटर गहिरो भएको बताइएको छ ।
करिब चार दशकअघि नै उक्त इनार ढाकिएपछि त्यहाँ मन्दिर निर्माण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । निगमका अधिकारीका अनुसार त्यसमा फलामको जाली राखिएको थियो । यसको चौडाइ कोठाको बराबर छ। फलामको जालीमा स्ल्याब राखेर निर्माण गरिएको थियो ।
हवनको समयमा इनारको छतमा धेरै मानिसको उपस्थितिका कारण जाल फुटेर दुर्घटना भएको हो । यो दुर्घटना लगत्तै पूरै इलाकामा तरंग छाएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । साँघुरो सडकका कारण राहत कार्यमा केही कठिनाइ भइरहेको बताइएको छ । इनारमा खसेका कतिपयलाई जसोतसो बाहिर निकालिएको थियो ।
अधिकारीहरूका अनुसार ७५ सेनाका जवानहरू र एनडीआरएफ र एसडीआरएफका टोलीहरू उद्धार अभियानमा संलग्न छन्। इन्दौर पुलिस कमिश्नरका अनुशार मन्दिर प्रशासनका अध्यक्ष र सचिव विरुद्ध मुद्दा दर्ता गरिएको छ। मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका आफन्तलाई पाँच लाख र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।