१८ चैत, काठमाण्डौ ।
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज उच्च पहाडी तथा हिमाली थोरै ठाउँहरुमा हल्का हिमपातको पनि सम्भावना छ । आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली नै रहनेछ । देशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । हिजो पनि काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको थियो ।
बितेको २४ घण्टामा सबैभन्दा धेरै भैरहवामा ६० मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा २४, विराटनगरमा २१, ओखलुङ्गामा १८, घोराहीमा, वीरेन्द्रनगरमा २३, नेपालगञ्जमा २१ र काठमाडौंमा ८ मिलिमिटर वर्षा भएको छ । भोलिदेखि भने मौसममा विस्तारै सुधार हुने अनुमान छ । यसैबीच सिरहाको मिर्चैयामा चट्याङ लागेर एक ट्रक चालकको मृत्यु भएको छ ।
सौर्य सिमेन्ट इन्डिस्ट्रिजमा सिमेन्ट लिन पुगेको ना ५ ख ३७२१ नम्बरको ट्रक चालकको चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । रौतहटको चन्द्रपुर नगरपालिका– ८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतम वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको प्रहरीले जनाएको छ ।