१८ चैत, एजेन्सी ।
छिमेकी मुलुक भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा शुक्रबार सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् । हिजो एकै दिन तीन हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या झन्डै ६ महिना यताकै उच्च हो ।
बुधबार तीन हजार संक्रमित फेला परेका थिए । महामारी कम भएसँगै गएको अक्टोबर २८ तारिखमा सबैभन्दा धेरै दुई हजार दुई सय आठ जनामा सङ्क्रमण देखिएको थियो । अहिले भारतमा १५ हजार २ सय ८ जना सक्रिय सङक्रमित रहेका छन् ।
केन्द्र सरकारले स्वास्थ्य तथा मातहतका निकायलाई सम्भावित महामारीको सामनाका लागि तत्काल समीक्षा गर्न तथा रोकथामका आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि कोरोना महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी खोपको पहुँच बढाउन तथा सावधानी अपनाउन आह्वान गरेको छ ।
स्वस्थ बालबालिका तथा किशोरकिशोरीहरूलाई खोप आवश्यक नभए पनि वृद्ध र उच्च जोखिममा रहेका समूहलाई अन्तिम खोप लगाएको ६ देखि १२ महिनाको अन्तरालमा ‘बुस्टर डोज’ लगाउन सुझाएको छ । गम्भीर रोगको सामना गरिरहेका वर्गलाई संक्रमण प्रतिरोधी खोपमा प्राथमिकता दिन संगठनले संसारका सबै देशका सरकारलाई अनुरोध गर्दै राष्ट्रसंघीय निकायले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको र सहयोगका लागि तत्पर रहेको बताएको छ ।
साथै संगठनले सचेत रहन तथा स्वास्थ्य नियम पालना गर्न अनुरोध गरेको छ । नेपालमा पनि पुनः कोरोनाभाइरस सङ्कमण बढ्न थालेको भन्दै अधिकारी तथा विज्ञले “लक्षण देखिने बित्तिकै परीक्षण गराउन” तथा “स्वास्थ्य सचेतना अपनाउन” आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीका भनाइमा नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण केही बढेको देखिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको हो ।