२१ चैत, काठमाण्डौ ।
आगामी वैशाख १० गते हुन गइरहेको उप–निर्वाचनका लागि नेकपा एमालेले बारा– २ मा पनि आफ्नो उम्मेदवार टुंग्याएको छ । पार्टी सचिवालय बैठकले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको नाम उम्मेदवारका रूपमा टुंग्याएको हो । पौडेल ०५१ सालमा संसद् र दोस्रो संविधानसभाका सदस्य भएका थिए ।
२०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए । एमालेले पौडेललाई उम्मेदवार बनाएसंगै बारा–२ मा मुख्य प्रतिस्पर्धा चारजना उम्मेदवारबीच हुने भएको छ । चारैजना उम्मेदवारहरूमध्ये पौडेलबाहेक तीनजना उमेदवार गत मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनमा पराजित भएका थिए । पौडेलले भने टिकट नै पाएका थिएनन् ।
बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेल उम्मेदवार छन् । यी तिनै जना उम्मेदवार मङ्सिर ४ मा पनि उठेर पराजित भएका थिए । हारेका यी तीनैजनासँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले पार्टीका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई मैदानमा उतारेको हो ।
उनले मङ्सिर ४ को निर्वाचनमा टिकट नै पाएका थिएनन् । पौडेलले एमाले भित्रको विवाद उत्कर्षमा पुग्दा माधव नेपाललाई साथ दिएका थिए । तर एमाले विभाजन भएको करिब एक महिनापछि उनले आफू एमालेमै रहने घोषणा गरेका थिए । गत मंसिर ४ को निर्वाचनमा बारा २ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।
जसपाबाट चुनाव जितेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । मंसिरको निर्वाचनमा यादव माओवादीबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहासँग झिनोमतान्तरले मात्रै विजयी भएका थिए । अहिले बारामा माओवादी र नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएका छन् । कांग्रेसले उपेन्द्र यादवलाई समर्थन गरेको छ ।