भैरहवाबाट दिल्ली र क्वालालम्पुरको सिधा उडानको तयारी

२ वैशाख , एजेन्सी ।
नेपाल वायुसेवा निगमले आउँदो जेठको दोस्रो साताबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई अन्तर्राष्ट्रिय गन्तव्यमा व्यवसायिक उडान सुरु गर्ने भएको छ । नियमित बिजनेस नपाएको भैरहवाका लागि निगमले दिल्ली र क्वालालम्पुर नियमित उडानका लागि टास्क फोर्स गठन गरेर प्रक्रिया अगाडि बढाएको प्रवक्ता रमेश पौडेलले बताएका छन् ।

Advertisement

दुवै गन्तव्यमा निगमले काठमाडौंबाट भने उडान गरिरहेको छ । पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सिधा उडानका लागि प्रक्रिया सुरु गरिएको छ । त्यस प्रयोजनका निम्ति दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अगाडि बढाइएको हो । उनले जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी, बजारीकरणलगायत कार्यलाई तीव्रता दिई कर्यप्रारम्भ गरिएको उल्लेख गरे ।

दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढाइएको र बजारको मागअनुसार उडान बढाउँदै लगिने प्रवक्ता पौडेलले बताए। ’दुई मुलुक र इनरुट पर्ने आवश्यक उडान अनुमतिका निवेदन दिइसकेका छौँ, अनुमति आउनासाथ बुकिङ खुला गरिनेछ’, उनले भने ।

Advertisement

भैरहवाबाट उडानका लागि निगमका वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरिएको छ । निगमले हाल दुवै गन्तव्यमा काठमाडौँबाट भने नियमित उडान गरिरहेको छ । नेपालको विश्वप्रसिद्ध गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने गरी निगमको उडान सेवा सुरु भएपछि लुम्बिनी भ्रमणमा आउने बौद्धमार्गी यात्रुहरूलाई थप आकर्षित गर्न विशेष प्याकेजको व्यवस्था गरिने निगमले जनाएको छ ।

विसं २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको थियो । यो विमानस्थल भएर बौद्ध धमावलम्बीको बाहुल्यता भएका मुलुकहरू श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, लाओसलगायत मुलुकमा हवाई सञ्जाल विस्तार गरी ती मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षण हुने अपेक्षा गरिएको थियो ।

Advertisement

उक्त विमानस्थलबाट अहिले अन्तर्राष्ट्रियतर्फ कुवेतको जजिरा एयरले उडान भरिरहेको छ । हिमालय एयरलाइन्सले अघिल्लो वर्ष छोटो समय चार्टर्ड उडान गरेको थियो। भैरहवामा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले उडानका लागि चासो देखाए पनि उडान सञ्चालन हुनसकेको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top