इन्टरनेशनल शब्द राख्न विदेशी विद्यार्थी पढेकै हुनुपर्ने : बालेन शाह

१७ वैशाख , एजेन्सी ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरभित्र रहेका विद्यालयले नेपाली नाम झल्कने नाम राख्नुपर्ने बताएका छन् । अन्यथा कानुनी कारबाही गर्ने चेतावनी उनले दिएका छन् । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरभित्र रहेका विद्यालयको नाम र चिन्हमा समेत एकरुपता ल्याउनुपर्ने उनले बताएका हुन् ।

Advertisement

काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९ र ७० तथा नियम ७० को उपनियम १ र २ ले विद्यालयको मौलिक नेपाली नाम राख्न र विद्यालयको चिह्न (लोगो)मा एकरुपता ल्याउने सम्बन्धी व्यवस्था गरेको छ । कतिपय विद्यालयले नियम पालना नगरेकाले बालेनले आइतबार बिहान सामाजिक सन्जालमार्फत् नियम पालना गर्न आग्रह गरेका हुन् ।

शाहले फेसबुकमार्फत प्रष्ट पार्दै विद्यालयको नाम षट्कोणमा राख्नुपर्ने बताए । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्ने उल्लेख छ । यस्तै विद्यालयको नाम राख्दा पनि समाज, राष्ट्रमा उल्लेख्य योगदान गरेका व्यक्ति, देशको संस्कृति झल्कने नाम राख्नुपर्ने नियमावलीमा उल्लेख छ ।

Advertisement

तर यो नियम प्रारम्भ हुनुभन्दा अगाबै यस नियम विपरीत नामकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागू हुनेगरी पुनः नामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ ।

त्यस्तै कुनै विद्यालयले पब्लिक शब्द राख्न चाहेमा कम्तीमा एकतिहाइ विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, यस्तै नेशनल शब्द राख्न चाहेमा देशका २५ वटा जिल्लाका विद्यार्थी अधययनरत हुनुपर्ने र इन्टरनेशनल शब्द राख्न चाहेमा विदेशी विद्यार्थी अधययनरत हुनुपर्ने उल्लेख छ ।

Advertisement

विद्यालयको नामको अन्तमा विद्यालय, स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेछ । यसअघि महानगरले विद्यालयलाई राजनीतिमुक्त क्षेत्र बनाउन आग्रह गरेको थियो । लगत्तै अखिल क्रान्तिकारीले महानगरको शिक्षा शाखामा तालाबन्दी गरेपछि मेयर बालेन्द्र शाहले कार्यालयमा गरेको तालाबन्दी तोड्न लगाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top