Nepal Times
Nepal Times
3
Shares

शरणार्थी प्रकरणमा मुछिएपछि आफ्नै बचाउमा उत्रिए खाँण

शरणार्थी प्रकरणमा मुछिएपछि आफ्नै बचाउमा उत्रिए खाँण

२२ वैशाख, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाणले वक्तव्य निकालेका छन् । वक्तव्यमार्फत खाणले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भएको र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न गरेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रशित नगरी दिनुहुन अनुरोध छ।’ गृह प्रशासनले थालेको नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा खाण पनि मुछिएका छन् ।

गत बुधवार प्रहरीले पक्राउ गरेका सरकारका सचिव टेकनारायण पाण्डेको बयानका आधारमा पूर्व गृहमन्त्री खाणको नाम पनि अगाडि आएको हो । गृहमन्त्री भएपछि पाण्डेलाई खाणले गृह सचिव बनाएका थिए । गृहमा गएपछि पाण्डेले ठगी गिरोहसँग मिलेर काम गरेको खुलेको छ । चार दिनदेखि प्रहरीको हिरासतमा रहेका पाण्डेले प्रहरीसँगको बयानको क्रममा पूर्व गृहमन्त्रीको नाम लिएका हुन् ।

बयान दिएको आधारमा प्रहरीले जोसुकैसँग पनि सोधपुछ गर्न सक्छ । थप प्रमाण भेटिएको आधारमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर पक्राउ समेत गर्न सक्छ । खाणको केसमा पनि प्रहरीले थप प्रमाण जुटाउँदैछ । २०७८ असार २९ देखि २०७९ पुस ११ सम्म गृहमन्त्री भएका खाँण पटकपटक झापा पुगेको जिल्ला प्रशासनका अधिकारीहरूले पनि बताएका छन ।

कहिले शरणार्थी समस्याको कुरामा, कहिले यही दुलाल–भण्डारीको टोलीमा र कहिले भेला–बैठकमा उहाँ आउनुभएको हो, तर गिरोहसँगको काममा हो कि होइन भन्न सकिएन,’ झापा प्रशासनका एक अधिकारीले भने । तर, यो लहरो तान्दा अझै एक दर्जन ‘हाई प्रोफाइल’ तानिने अनुसन्धानकर्मी अधिकारीको भनाइ छ ।

यता यही प्रकरणमा मुछिएका पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी अझै सम्पर्कविहीन छन । प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन छन ।

आफूलाई पक्राउ गर्न लागिएको जानकारी पाएलगत्तै रायमाझीले प्रहरी उच्च अधिकारी र राजनीतिक नेतृत्वलाई फोन गरी आक्रोश पोखेका थिए । ‘पक्राउ पुर्जी काटेर आफ्नो बेइज्जत गरेको भन्दै उहाँले असन्तुष्टि पोख्नुभएको थियो, तर आफ्नो जे भनाइ छ अनुसन्धान गरिरहेको सम्बन्धित प्रहरी कार्यालयमै गएर राख्न भनेर उहाँलाई सुझाव दिइएको छ,’ प्रहरीका एक अधिकारीले भने ।

तर, यसका लागि पक्राउ गरिरहन पर्दैन, म आफैं उपस्थित हुन्छु भन्दै फोन काटेका रायमाझी त्यही साँझदेखि सार्वजनिक सम्पर्कबाहिर छन । रायमाझी सम्पर्कविहीन बनेकै साँझ प्रहरीले उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याइसकेको छ । रायमाझीका बाबुछोरा नै शरणार्थी ठगी प्रकरणमा मुछिएका हुन् ।

हिरासतमा रहेका गिरोहका सदस्यहरूले यो धन्दामा रायमाझीको संलग्नता रहेको बयान दिएका छन् । नक्कली शरणार्थी प्रकरणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता बाक्लिएको छ । ओली तीन दिनमा दोस्रोपटक आज पनि प्रधानमन्त्री भेट्न सिंहदारबार पुगेका छन् ।

दुई दिनअघि भएको भेटमा उनले एमाले नेताहरुलाई अनावश्यकरुपमा मुछ्न खोजेको भन्दै असन्तुष्टि जनाएका थिए । यो प्रकरणमा अहिलेसम्म सचिव पाण्डेसंगै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । गिरोहका नाइकेहरू केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ पनि पक्राउ परिसकेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.