श्री एयरको जहाजको पांग्रा अड्किएपछि बीच बाटोबाटै फर्कियो

श्री एयरको जहाजको पांग्रा अड्किएपछि बीच बाटोबाटै फर्कियो

२५ वैशाख, काठमाण्डौ ।

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडेको १८ मिनेटमै पुनः भैरहवा विमानस्थलमै अवतरण गरिएको विमानस्थलले जनाएको छ । आकाशमा उडिरहेको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा फर्काइएको बताइएको छ ।

उडिरहेको जहाजको पांग्रा भित्र नपसेपछि जहाज भैरहवा फर्काइएको जनाइएको छ । अहिले जहाजमा रहेका यात्रुहरूलाई डिपार्चर कक्षामा राखिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद राउतले जानकारी दिए । सबै यात्रुहरू सकुशल छन् ।

अतवरण गरिएको जहाज अन्तर्राष्ट्रिय टरमिनल तर्कको पार्किङमा राखिएको र रन वे क्लियर भएसँगै विमानस्थल सुचारू भइसकेको छ । जहाजमा दुई बालकसहित ७५ जना यात्रु थिए । भैरहवाबाट बिहान ९ः३९ बजे काठमाडौं उडेको जहाज ९ः५७ बजेमै भैरहवा अवतरण गरिएको हो ।

यता श्री एयरलाइन्सकै कारण काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको थियो । विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौंमै फर्किएको हो ।

एनवाईटी ८९१ कल साइनको यतीको जहाज बिहान साढे ९ बजे काठमाडौंबाट भैरहवा प्रस्थान गरेको थियो । पश्चिम नवलपरासी पुगेर आकाशमा फन्को लगाएको सो जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौं आएको विमानस्थल कार्यालयले बताएको छ ।

श्री एयरलाइन्सको जहाज रनवेमै रोकिंदा भैरहवा विमानस्थल करिब ५० मिनेट अवरुद्ध भएको थियो । अहिले भने श्री एयरलाइन्सको जहाज रनवेबाट हटाइसकिएको भैरहवा विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले  बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.