Nepal Times
Nepal Times
3
Shares

इमरानलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

इमरानलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

२९ वैशाख, एजेन्सी ।
पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ । अदालतले खानको गिरफ्तारी गैरकानुनी भएको भन्दै उनलाई रिहा गर्न बिहीबार नेशनल अकाउन्टेविलिटी ब्यूरो (एनएबी)लाई आदेश दिएको हो । बिहीबार सुनुवाइको क्रममा प्रधानन्यायाधीश उमर अता बंदियालले कुनै पनि अदालतबाट कुनै पनि आरोपीलाई पक्राउ गर्न नमिल्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री खानलाई मंगलबार अदालत परिसरबाट पक्राउ गरिएको थियो । उनलाई आज इस्लामावाद हाइकोर्टमा पेश गरिने छ । सर्वाेच्च अदालतले इमरान खानलाई इस्लामाबाद उच्च अदालतमा जान र उच्च अदाललतले गरेको फैसला स्वीकार गर्नुपर्ने बताएको छ ।

भ्रष्टाचारसँग जोडिएको एक मुद्दामा पूर्वप्रधानमन्त्री खानलाई पाकिस्तानी अर्ध सुरक्षाबल रेन्जर्सले मङ्गलवार अदालत परिसरबाट पक्राउ गरेको थियो । खानका वकिलले अवैध तरिकाले पक्राउ गरेको भन्दै सर्वाेच्चमा निवेदन दिएका थिए । इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विरोध प्रदर्शन र झडपको सिलसिला सुरु भएको थियो ।

पाकिस्तानभर चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको ज्यान जानुका साथै दुई हजार जनाभन्दा धेरै मानिस पक्राउ परेका थिए । अदालतको पछिल्लो फैसलाले पनि इमरानका समर्थकहरुमा खुसी छाएको छ । पूर्व क्रिकेट खेलाडी समेत रहेका खानले न्यायाधीशहरूलाई आफूलाई उच्च अदालतबाट अपहरण गरिएको र लठ्ठीले हिर्काइएको बताएका थिए ।

चार वर्षभन्दा कम समय सत्तामा रहेका खानको गिरफ्तारीपछि समर्थकहरूले पाकिस्तानमा दुर्लभ रूपमा हुने सरकारी तथा सैन्य भवनहरूमा आक्रमण गरेका थिए । उनको गिरफ्तारीपछि पक्राउ पर्नेमा सातजना शीर्ष पीटिआई नेताहरू समेत छन् । जसमध्येका पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीले हिंसा उकासेको प्रहरीले जनाएको छ जसलाई उनले अस्वीकार गरेका छन् ।

धेरै विश्लेषकहरूले सन् २०१८ मा खानले सैन्य सहयोगमा चुनाव जितेको ठान्छन् । तर पदबाट हटेपछि उनी सेनाको सबैभन्दा प्रखर आलोचक बनेका छन् । सन् २०२२ को नोभेम्बरमा एक विरोध जुलुसका क्रममा खानको खुट्टामा गोली प्रहार भएको थियो । उनले वरिष्ठ गुप्तचरहरूले उक्त हमला गराएको आरोप लगाएका थिए जसलाई सेनाले कडा रूपमा अस्वीकार गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.