३० वैशाख, काठमाण्डौ ।
भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे नेपाल आएका छन् । उनी तीन दिने भ्रमणका लागि नेपाल आएका हुन् । रिन्पोछे बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्मगुरु हुन् । उनी नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रवार नेपाल आएका हुन् ।
धर्मगुरु रिन्पोछे भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आएका बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्णकुमार लामाले बताए । उनका अनुसार रिन्पोछेले वि.सं. २०७२ को महाभूकम्पमा परी क्षति भएको बौद्ध स्तुपाको पुनः सिनर्माणमा सहयोग गरेका थिए ।
नेपाल भ्रमणका क्रममा रिन्पोछेले बौद्ध धर्म गुरुहरुसँग भेटघाट र नेपालका बौद्ध गुम्बाहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ । बौद्धगुरु रिन्पोछे २८ वर्षपछि नेपाल आएका हुन् ।