Nepal Times
Nepal Times
3
Shares

मदिराले लठ्ठिएको अवस्थामा पक्राउ परे टोपबहादुर/ १० दिनदेखि कहाँ लुकेका थिए ?

मदिराले लठ्ठिएको अवस्थामा पक्राउ परे टोपबहादुर/ १० दिनदेखि कहाँ लुकेका थिए ?

१ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार राती पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न आज अदालत लगिँदै छ । पक्राउ पुर्जी जारी भएपछि १० दिनदेखि फरार रायमाझीलाई प्रहरीले आइतबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

राति काठमाडौं प्रहरी परिसर ल्याइएका एमालेका निलम्बित सचिव रायमाझीलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई प्रहरीले अनुसन्धानका लागि म्याद लिने भएको हो । उनी बुढानीलकण्ठस्थित अर्घाखाँचीकै एक कार्यकर्ताको घरमा लुकेर बसेका थिए ।

प्रहरीले पक्राउ गर्दा टोपबहादुर मदिरा सेवन गरेर लठ्ठिएको अवस्थामा फेला परेका थिए । स्वास्थ्य जाँचका क्रममा उनले मदिरा पिएको पुष्टि भएको छ । उनले स्वास्थ्य जाँचका क्रममा डाक्टरलाई एक गिलास बियर खाएको जवाफ दिएका छन् ।

विशेष ब्यूरोले पक्राउ गरेर रायमाझीलाई काठमाडौं परिसरमा बुझाएपछि परिसरबाट राति नै स्वास्थ्य जाँचका लागि कान्तिपुर अस्पताल तीनकुने लगिएको थियो । परीक्षणपछि रायमाझीले आफूले एक गिलास मात्रै बियर खाएको जवाफ दिएका छन् । तर प्रहरीले भने उनी रक्सीमा झुम्म भएको अवस्थामा रहेको बताएको छ ।

यसअघि फरार रहँदा उनले संसद्लाई पत्र पठाउँदै आफू बिरामी भएको बताएका थिए । स्वास्थ्य जाँचपछि रायमाझीलाई राति नै प्रहरीको सोह्रखुट्टे वृत्तमा लगिएको थियो । उनलाई त्यहाँको हिरासतमा राखिएको छ । शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपिहरुलाई छुट्टा छुट्टै हिरासतमा राखिएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं प्रहरी परिसर टेकूमा राखिएको छ । रायमाझी पक्राउ परेसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लाने भन्दै करोडौँ रकम ठगी गरेको अभियोगमा समातिनेको संख्या १३ पुगेको छ ।

पक्राउ परेकाहरु मध्ये ११ जनाको बयान सकिएको छ भने खाँणको आजदेखि सरकारी वकिलले बयान लिनेछन् । खाँणलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । उनीसँगै पक्राउ परेका १२ जनालाई अदालतको अनुशन्धानका लागि हिजो थप ४ दिन समय थप गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.