Nepal Times
Nepal Times
3
Shares

बार्सिलोना ४ खेल अगावै ला लिगा च्याम्पियन

बार्सिलोना ४ खेल अगावै ला लिगा च्याम्पियन

१ जेठ, एजेन्सी ।
क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । आइतबार राति इस्पानियोललाई ४–२ ले हराएसँगै बार्सिलोनाले २७औँ स्पेनिस ला लिगाको उपाधि जितेको हो । बार्सिलोनाले चार खेल अगावै उपाधि जितेको हो । बार्सिलोनाको सफल इतिहासमा आकर्षक आक्रमक फुटबल ब्रान्ड जोडिन्छ । तर, जारी सिजन बार्सिलोना फरक शैली अपनाएको छ ।

मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले परम्परागत शैलीलाई अलग राख्दै बलियो रक्षापंक्तिमा ध्यान केन्द्रित गरेका थिए । जारी सिजन बार्सिलोनाले ३४ मध्ये २७ खेल जितेको छ । त्यसमा बार्सिलोनाले ६४ गोल गरेको छ भने १३ गोलमात्र खाएको छ । जुन युरोपकै शीर्ष पाँच लिगमा सबैभन्दा राम्रो नतिजा हो । बार्सिलोनाले घरेलु मैदानमा त अझ दुई गोलमात्र खाएको छ ।

त्यसमध्ये एक आत्मघाती र अर्को पेनाल्टीमा गोलमा खाएको हो । बार्सिलोनाको रक्षापंक्ति बलियो हुनुमा गोलकिपर मार्क आन्द्रे टेर–स्टेगन र रक्षकद्वय रोनाल्ड अराउजो र जुलेस कौन्डेको भुमिका मुख्य रह्यो । बार्सिलोनाले २०१८÷१९ सिजनपछि पहिलोपटक उपाधि जितेको हो ।

त्यतिबेला बार्सिलोनाको अग्रपंक्तिमा लियोनल मेसी र लुइस स्वारेज थिए । यसपटक भने जाभीले लेवानडोवस्कीलाई प्रयोग गरेका थिए । कप्तान सर्जियो बुस्केट र जोर्डी अल्बाको अनुभवले बार्सिलोनालाई अझ बलियो बनायो । गएराति पनि स्पानियोलको घरेलु मैदानमा लेवानडोवस्कीको गोलबाट ११औँ मिनेटमा अग्रता लिएको थियो ।

२०औँ मिनेटमा एलेक्स बाल्डेले अग्रता दोब्बर बनाए । ४०औँ मिनेटमा लेवानडोवस्कीले व्यक्तिगत दोस्रो गोल थपे । ५३औँ मिनेटमा कौन्डेले चौथो गोल गरे । ७३औं मिनेटमा जाभियर पाउडो र इन्जुरी समयमा जोसेलुले गरेको गोलबाट स्पानियोलले पुनरागमनको प्रयास गरे पनि धेरै ढिला भइसकेको थियो ।

लियोनेल मेसीले अगस्ट २०२१ मा क्लब छोडेपछि बार्सिलोनाको यो पहिलो ला लिगा उपाधि हो र जाभी हर्नान्डेज नोभेम्बर २०२१ मा प्रशिक्षक बनेपछि बार्सिलोनाले पहिलो पल्ट ला लिगाको उपाधि जितेको हो । यस्तै बार्सिलोनासँगको हारसँगै स्पान्योल चार सिजनपछि रेलिगेसनमा जाने खतरामा छ ।

जितपछि बार्सिलोनाले ३४ खेलबाट ८५ अंक जोडेको छ । जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा १४ अंकले अगाडि हो । लिगमा अब १२ अंकको खेलमात्र बाँकी छ । त्यसकारण बार्सिलोनाले चार खेल अगावै लिग उपाधि पक्का गरेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.