६ जेठ, एजेन्सी ।
रुसले अमेरिकालाई लिएर जस्तालाई त्यस्तै गर्ने रणनीति लिएको छ । अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ ।
रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगात अमेरिकी नागरिकलाई रुस प्रवेशमा निषेध गरेको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ ।
“वासिङ्टनका दुर्भावनापूर्ण हरेक कदमको जवाफ मस्कोले दिनेछ, यो कुरा उसलाई ज्ञात होस” रुसी विदेश मन्त्रालयले अमेरिकी नागरिकमाथि लगाएको प्रतिबन्धमा भनेको छ । करिब १५ महिनादेखि रुस र युक्रेनबीच युद्ध जारी छ । अमेरिकालगायत पश्चिमा देशले युक्रेनमाथि भएको रुसी हमलाको निन्दा गर्दै मस्कोमाथि आर्थिक नाकाबन्दी गरेका छन् ।
केही महिनाअघि रुसी कदमको विरोध गर्दै विश्वका एक सय ४१ देशले युक्रनेमाथिको हमला अविलम्ब अन्त्य हुनुपर्ने राष्ट्रसङ्घीय प्रस्तावका पक्षमा मतदान गरेका थिए । यसैबीच अमेरिकाले आफ्ना पश्चिमी सहयोगीहरूलाई युक्रेनलाई अमेरिकी निर्मित एफ–१६ सहितका उच्च प्रविधियुक्त लडाकु विमानहरू आपूर्ति गर्न अनुमति दिने बताएको छ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानमा जारी ग्रुप अफ सेभेन (जी–७) को शिखर सम्मेलनमा उक्त निर्णयबारे जानकारी गराएको बताए । सुलिभानका अनुसार अमेरिकी सेनाले युक्रेनी पाइलटलाई उक्त लडाकु विमानहरु संचालन गर्न सिकाउने छन् ।
युक्रेनले लामो समयदेखि उच्च प्रविधियुक्त लडाकु विमान खोजिरहेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको उक्त निर्णयको स्वागत गरेका छन् ।