१ असार, काठमाण्डौ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई स्पष्टीकरण सोधेको छ । महानगरले प्राधिकरणको त्रिभुवन विमानस्थल क्षेत्रमा फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले स्पष्टीकरण सोधको हो ।
प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारबार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा भत्काएपछि शुक्रबार प्राधिकरणले मेयर शाहलाई ७ दिने लिखित स्पष्टीकरण सोधेको क्यानका महानिर्देशक प्रदिप अधिकारीले बताएका छन् ।
“तारबार फेन्सिङ काटी लैजाने कार्यमा तपाईंको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५(१) बमोजिम सजाय किन नगर्ने हो ?,” पत्रमा भनिएको छ ।
प्राधिकरणले सात दिनभित्र लिखित जवाफ दिन भनेको छ । प्राधिकरणले बालेनसहित वडा नम्बर ९ का वडाध्यक्ष र राजेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको छ ।
“नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २५१ बमोजिम पत्र प्राप्त भएको ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन प्राधिकरणको जेठ ३२ निर्णयानुसार जानकारी गराइन्छ,” पत्रमा भनिएको छ ।
महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले हिजो प्राधिकरणलाई कुनै जानकारी नदिई फेन्सीङ्ग तार काटेका थिए ।