२३ असार,एजेन्सी ।
भारतको हरियाणा राज्यमा अबदेखि अविवाहितले मासिक भत्ता पाउने भएका छन् । हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले प्रान्तका अविवाहित महिला–पुरूषलाई मासिक २ हजार ७५० रूपैयाँ भत्ता दिने घोषणा गरेका हुन् । अविवाहित महिलापुरूष मात्रै होइन पत्नीको मृत्यु भएका विधुर पुरूषले पनि भत्ता पाउने भएका छन् ।
बिबिसीका अनुसार शुक्रबार करनाल जिल्लामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री खट्टरले सो घोषणा गरेका थिए । त्यसका लागि प्रान्त सरकारले सबै तयारी पूरा गरेको पनि उनको भनाइ थियो । पेन्सन पाउनका लागि केही शर्त राखिएका छन् । पहिलो, अविवाहित व्यक्तिको उमेर ४५ वर्षमाथि र ६० वर्षभन्दा तल हुनुपर्छ ।
दोस्रो, त्यस्ता व्यक्तिहरूको वार्षिक आम्दानी १ लाख ८० हजारभन्दा कम हुनुपर्छ । विधुर पुरूषको हकमा ४० वर्ष पार भइ ६० वर्ष ननाघेको र वार्षिक तीन लाख रूपैयाँ भन्दा कम आम्दानी हुनुपर्ने शर्त राखिएको छ । अविवाहितको संख्या ६५ हजार र विधुरको संख्या ५ हजार ६८७ रहेको छ । यो योजना कार्यान्वयनका लागि प्रत्येक महिना २० करोड र वर्षेनि २४० करोड रूपैयाँ खर्च हुने बताइएको छ ।
बिबिसीका अनुसार हरियाणामा पुरूषको भन्दा महिलाको संख्या कम छ । २०११ को जनगणनाअनुसार हरियाणामा औसत एक हजार जना युवकमा ८७७ युवती छन् । भारतमा देशभरी औसतमा एक हजार युवकमा ९२३ युवती छन् ।
लिंगअनुपातसँगै बेरोजगारीका कारण पनि विवाह नभएको बिबिसीले उल्लेख गरेको छ । राज्य ऋणमा डुबेको बेलामा सस्तो लोकप्रियताका लागि भत्ताको योजना ल्याएको भन्दै सरकारको आलोचनासमेत भएको छ । हरियाणाका मुख्यमन्त्री खट्टर र गृहमन्त्री अनिल विजसमेत अविवाहित हुन् ।