२४ असार काठमाण्डौ ।
प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार अपराह्न तीन बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । यसअघि आज एक बजेका लागि बोलाइएको बैठक तोकिएको समयमा बस्न सकेको थिएन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै लगातार संसद अवरोध गरिरहेको छ । भारतीय व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको प्रचण्डको अभिव्यक्तिमा एमाले आक्रामक बनेको हो ।
यद्यपी आज प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा संसद अवरोध हटाउने विषयमा छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न एमाले तयार भएको भन्दै प्रधानमन्त्रीले आज बैठकमा जवाफ दिने तयारी गरेका थिए।
प्रचण्डकै आग्रहमा एक बजेको बैठक ३ बजे सारिएको पनि थियो । तर अन्तिम समयमा आएर प्रधानमन्त्रीकै आग्रहमा सभामुख घिमिरेले बैठक भोलिसम्मका लागि सारेका हुन् । बैशाख २० मा एमालेले प्रचण्डको राजीनामा माग्दै सदन अवरोध गरेको थियो ।
अब भोलीको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो उक्त अभिव्यक्तिबारे जवाफ दिने भएका छन् । तर आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे सदन अवरुद्ध हुनसक्ने एमालेले बताएको छ । एमालेले प्रतिनिधिसभामा बेला–बेलामा अवरोध गरेर आफ्ना मागलाई बलियो गरी उठाउने भएपनि सम्झौतामा लिएर टुंग्याउने गरेको छ ।
तत्कालीन सभामुख अग्नि सापकोटाको राजीनामा मागेर २०७८ मा दुई अधिवेशन एमालेले अवरोध गरेको थियो । तर बिनाउपलब्धि त्यतिबेला पनि एमाले पछि हटन बाध्य भएको थियो । अहिले पनि एमालेको अवरोधकै कारण मिटरब्याजीसम्बन्धी कानुनी निष्क्रिय भएको छ ।
बैशाख २० मा ल्याएको अध्यादेश असार २० मा निष्क्रिय भयो भने विधेयक पारित हुने सकेन । यता एमालेकै अवरोधका कारण आज पनि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आइतबार साढे ११ बजेपछि सुरु भएको बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको हो । राष्ट्रियसभाको बैठक लगातार चौथोपटक स्थगित भएको हो ।