२९ असार, काठमाण्डौ ।
काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित अवतरण गरिएको छ । “काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको ‘नाइन एन एएमपी’ जहाजमा प्राविधिक समस्या देखिएपछि फर्काएर काठमाडौंमा सुरक्षित अवतरण गरिएको छ,“ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
चालक दलका सदस्यसहित ७० जना यात्रु बोकेर उडेको जहाजमा ‘इन्डिकेसन’मा समस्या देखिएपछि काठमाडौं फर्काइएको हो । प्रवक्ता सिटौलाका अनुसार जहाज दिउँसो १ः५३ बजे काठमाडौंबाट उडेको थियो । काठमाडौंबाट १५ माइल पर पुगेपछि जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गरिएको थियो ।
दिउँसो २ः१० बजे जहाज काठमाडौंमा अवतरण गरेको उनले बताए । यसअघि असार ११ गते भैरबहवा उड्न लागेको बुद्धको जहाजमा समस्या आएको थियो । जेठमा जनकपुरबाट काठमाडौंमा उडान भर्नेक्रममा जहाजमा मुसा भेटिएको थियो ।
यसअघि पनि काठमाडौं बाट पोखरा र विराटनगरको उडानमा पनि प्राविधिक समस्या देखिइसकेको छ । बुद्ध एयरसँग एटीआर कम्पनीका जहाज छन् । विमानस्थल परिसरमै मर्मत केन्द्र पनि सञ्चालनमा ल्याएको छ । त्यसैले सुरक्षामा लापरवाही नगरिएको कम्पनीको दाबी छ ।
बरु सुरक्षाकै लागि सुविधा कम भएको विमानस्थलमा अवतरण प्रयास नगरी जहाजलाई काठमाडौं डाइभर्ट गरिएको उसले बताएको छ । बुद्ध एयरले पटक पटक विज्ञप्ती जारी गर्दै कम्पनी हवाई सुरक्षाका लागि प्रतिवद्ध रहेको दोहो¥याउदै आएको छ ।