सीमा विवादबारे सहमतिमा आउन भारतलाई चीनको आग्रह

सीमा विवादबारे सहमतिमा आउन भारतलाई चीनको आग्रह

३० असार,एजेन्सी ।
आफूहरुबीच दशकौंदेखिको सीमा विवाद हल गर्न भारतलाई चीनले आह्वान गरेको छ । चीनका एक वरिष्ठ कूटनीतिज्ञले भारतलाई सीमा विवाद समाधानका निम्ति सहमतिमा आउन आह्वान गरेका हुन् । दक्षिणपूर्वी एसियाली मुलुकहरूको संगठन (आसियान)का विदेशमन्त्रीहरूको बैठकको सिलसिलामा जकार्तामा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले भारतका विदेशमन्त्री एस जयशंकरसँग शुक्रबार भएको भेटमा साझा हितमा ध्यान केन्द्रित गर्न आह्वान गरेका हुन् ।

एसियाको सबैभन्दा धेरै जनसंख्या भएका छिमेकीबीचको सीमा तनावलाई कम गर्न वरिष्ठ कूटनीतिज्ञ वाङले सहमतिमा आउन भारतलाई आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । वरीयतामा चिनियाँ विदेशमन्त्रीभन्दा माथि रहेका उच्च कूटनीतिज्ञ वाङले दुई पक्षले एकार्कालाई शंका गर्नुको सट्टा एकार्कालाई समर्थन गर्नुपर्नेमा जोड दिएका थिए ।

चीन र भारतको साझा हित आपसी मतभिन्नताभन्दा अधिक रहेकाले सहमतिमा आउन भारतलाई नेता वाङले आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । भारत र चीनबीचको सम्बन्ध हालैका महिनामा सिमानालाई लिएर बिग्रिएको छ । भिसा विवादमा दुई पक्षले एकार्काका लगभग सबै पत्रकारलाई निष्कासन गरेका छन् । भारत र उसको उत्तरी भाग लद्दाख क्षेत्रको सीमांकन स्पष्ट नहुँदा सैन्य झडप र अवरोध हुँदै आएको छ ।

दुवै देश ‘सकेसम्म चाँडो’ सीमा विवाद अन्त्य गर्न सैन्य कमान्डर तहको अर्को चरणको वार्ता गर्न सहमत भएका मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।बेइजिङले भारतको अरुणाचल प्रदेशलाई पनि तिब्बतको भूभाग भएको दाबी गर्दै आएको छ भने कश्मीरलाई विवादित क्षेत्र मानेको छ । दुवै मुलुकबीचको चिसो सम्बन्धका बाबजुद चीन भारतको दोस्रो ठूलो व्यापार साझेदार हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.