३० असार, एजेन्सी ।
दक्षिणी युरोपमा अत्यधिक तापक्रम बढेसँगै इटलीका १६ सहरहरूमा चेतावनीको सूचना जारी गरिएको छ । युरोपेली देशहरूसँगै अमेरिका, चीन, उत्तर अमेरिका र जापानमा पनि तापक्रम बढेको बीबीसीले जनाएको छ । स्वस्थ मानिसहरूलाई पनि जोखिम पु¥याउनसक्ने तहमा उच्च तापक्रम बढ्नसक्ने भन्दै इटलीका पर्यटकीय सहरहरू रोम, फ्लोरेन्स र बोलोन्यामा सावधानी अपनाउन भनिएको छ ।
अर्को उष्णलहर युरोपतर्फ अघि बढेसँगै आगामी साता यो क्षेत्रको तापक्रम उच्च हुने ठानिएको छ । भूउपग्रहबाट जमिन र समुद्रको तापक्रम निगरानी गर्दै आएको युरोपियन स्पेस एजेन्सीले इटली, स्पेन, फ्रान्स, जर्मनी र पोल्यान्डमा अत्यधिक गर्मी हुने जनाएको छ । युरोपको मध्य भागमा रहेका जर्मनी र पोल्यान्ड लगायतका देशहरूमा पनि अत्यधिक तापक्रम पुगेको छ ।
अमेरिकामा पनि अत्यधिक तापक्रम सहितको उष्णलहरको पूर्वानुमान गरिएको छ र दक्षिणपूर्वी क्षेत्रमा चेतावनीहरू जारी गरिएको छ । शुक्रवार जारी गरिएको तापक्रम सावधानी सम्बन्धी सूचनाले अमेरिकाको फ्लोरिडा, टेक्सस, क्यालिफोर्निया देखि वासिङ्टनसम्मका ११ करोड मानिसहरूलाई प्रभावित गरेको थियो ।
मानिसहरूले चिसोका लागि प्रयोग गर्ने वातानुकूलन उपकरण (एसी)को प्रयोगका कारण टेक्सस राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान बनेको छ । आगामी दिनमा करिब २ करोड ७० लाख मानिसहरूले ४३ डिग्री सेल्सियस भन्दा बढीको तापक्रम सामना गर्ने पूर्वानुमान गरिएको छ । निश्चित समयमा अधिक गर्मी हुने मौसमको प्राकृतिक प्रणाली भए पनि विश्वव्यापी तापमान वृद्धिका कारण संसारभर यस्तो अवस्था छिटो छिटो, अत्यधिक र लामो समयसम्म रहने गरेको छ ।
शनिवारको उष्णलहर पुगेको क्षेत्रका मानिसहरूलाई बिहान ११ बजेबाट साँझ छ बजेसम्म प्रत्यक्ष घामको प्रकाशमा नपर्ने इटलीको सरकारले सुझाव दिएको छ । त्यहाँको सरकारले ज्येष्ठ नागरिक र स्वास्थ्यको जोखिममा रहेका मानिसहरूलाई विशेष हेरचाह पु¥याउन पनि भनेको छ । ग्रिसमा पछिल्ला दिनहरूमा तापक्रम बढेर ४० डिग्री सेल्सियस माथि पुगेको छ ।
तापक्रम बढेसँगै तीव्र हावा बहने बनजङ्गल क्षेत्रमा डढेलो फैलनसक्ने चिन्ता सुरू भएका छन् । ग्रिसमा सन् २०२१ मा असाधारण उष्णलहर चलेकै समयमा ठूलो डढेलो फैलिएको थियो । चेक रिपब्लिकको मौसम कार्यालयले पनि सप्ताहान्तमा तापक्रम ३८ डिग्री सेल्सियस भन्दा माथि पुग्नसक्ने चेतावनी जारी गरेको छ । यस्तो गर्मी चेक रिपब्लिकका लागि निकै असाधारण हो ।
यद्यपि यूकेमा भने ठूलो वर्षा र आँधी सहितको हावा चल्ने पूर्वानुमान छ । मौसम निम्त्याउने जेट स्ट्रीम दक्षिणतर्फ सरेका कारण युरोपका धेरै क्षेत्रमा गर्मी बढ्ने तर यूकेमा शीतल हावा बहने आकलन गरिएको छ । पानी पिउन, कफी र मदिरा नपिउन सुझाव युरोपको अहिलेको उष्णलहरलाई इटलीको मेट्रोलोजिकल सोसाइटीले सर्बरस नाम दिएको छ ।
चारुन नाम दिइएको अर्को उष्णलहरले आगामी साता त्यहाँको तापक्रम ४० डिग्री सेल्सियस पु¥याउने आकलन गरिएको छ । उष्णलहर प्रभावित क्षेत्रहरूमा मानिसहरूलाई कम्तीमा दुई लिटर पानी पिउन भनिएको छ शरीरमा निर्जलीकरण निम्त्याउनसक्ने कफी र मदिरा नपिउन भनिएको छ ।
युरोपको मौसम निगरानी सेवाले यो वर्षको जुन महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम पुगेको जनाएको छ । युरोपमा अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम सन् २०२१ को अगस्टमा सिसिलीमा ४८.८ डिग्री सेल्सियस मापन भएको थियो ।