काठमाडौं,भदौ २१
कम्पनी रजिष्ट्रार कार्यालयमा अनियमितता गर्ने १२ जनाको नाम केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले सार्वजनिक गरेको छ । शंकर इलेक्ट्रोनिक्स कम्पनीको नाममा रहेको सम्पत्ति मालिकलाई नै थाहा नदिई अर्कैको नाममा नामसारी गर्ने १२ जनाको नाम सार्वजनिक गरेको हो ।
सीआइबीका प्रवक्ता सानुराम भट्टराईका अनुसार अधिकृतद्धय नारायण पोखरेल, उमेश जोशीसहित १२ जना आरोपितहरुलाई पक्राउ गरिएको छ ।
सीआईबीले सेयर ट्रान्सफरमा घोटला भएको शंका लागेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा गत आइतबार छापा मारेको थियो । शंकर इलेक्ट्रोनिक्सका मालिक भारतीया व्यावसायी राम निरञ्जन जटिया हुन् । नक्कली कागजात तयार गरी सोहि कम्पनीका पूर्वकर्मचारी जितबहादुर मगरले कम्पनी आफ्नो नाममा नामसारी गरेका हुन् ।
सीआइबीका अनुसार मगरले कम्पनीको नाममा रहेको चल(अचल सम्पत्ति बिक्री गर्ने तयारी गरिसकेका थिए ।आइतबार छापा मारेर अधिकृतद्धय नारायण पोखरेल र उमेश जोशीलाई सोही दिन नै पक्राउ गरेको सीआईबीका प्रवक्ता सानुराम भट्टराईले पुष्टि गरे । उनले यो प्रकरणमा अन्य केही कर्मचारी तथा व्यक्ति फरार रहेको जानकारी दिए ।
रजिष्ट्रार कार्यालय स्रोतका अनुसार शंकर इलेक्ट्रोनिक्स कम्पनीको मूल्याङक २५ लाख रूपैयाँ तोकिएको छ । सेयर ट्रान्सफर गर्ने कार्यमा कीर्ते भएको पाइएपछि सीआईबीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु विरुद्ध थप अनुसन्धान भैरहेको सीआईबीले जनाएको छ ।
(विकास न्युजबाट)